काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सञ्चालन गरेको खुलामुखी सामूहिक लगानी कोष योजना ‘माछापुच्छ्रे एसआइपी योजना (एमएसआईपी)’ को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा सुरु भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार प्रारम्भिक निष्काशनमा जारी गरिएका इकाईहरूको निष्काशन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिना भित्र इकाई खरिद–बिक्री गर्न मिल्ने व्यवस्था रहे बमोजिम उक्त सेवा आइतबारदेखि सुरु गरिएको हो ।
उक्त योजनाको इकाई खरिद, पुनर्खरीद तथा बिक्रीका साथै एसआईपीमा सहभागी हुनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय जेडिए कम्प्लेक्स, बागदरबार, काठमाडौंका साथै माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।
यसका साथै अनलाइनमार्फत लगइन गरी डिजिटल भुक्तानी सेवा प्रदायकहरू जस्तै ईसेवा, खल्ती तथा कनेक्ट आईपीएस मार्फत भुक्तानी गरी सहजै कारोबार गर्न सकिने व्यवस्था समेत रहेको छ ।
एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजना पहिलो खुलामुखी योजना हो, जसको कुल स्वीकृत आकार ५,००,००,००० (पाँच करोड) इकाई रहेको छ । पहिलो चरणमा उक्त योजनाको प्रति इकाई रु। १० अंकित दरका २,००,००,००० (दुई करोड) इकाईहरू मिति २०८२/०८/१४ देखि २०८२/०८/१७ गतेसम्म सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुला गरिएको थियो।
उक्त अवधिमा ५१,७४७ जना आवेदकहरूबाट जम्मा ३,१९,३६,७७० इकाई खरिदका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो भने आवेदन गर्ने सबैलाई मिति २०८२/०९/०१ गते इकाई बाँडफाँड गरिएको थियो ।
माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोष सम्बन्धी विविध मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।