कांग्रेसले समानुपातिकतर्फ २० जनाको नाम आयोगमा पठायो, १५ जना महिला समेटिए

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टीले पाएको २० सिटमध्ये १५ महिलालाई र ५ पुरुषलाई समेटेर नाम पठाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार समावेशी क्लस्टर मिलाउँदा आदिवासी जनजातिबाट ६ जना, खस–आर्यबाट ६ जना र थारु, दलित, मधेशी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट गरी कूल ५ जनाको नाम सिफारिस गरिएको छ ।

प्रवक्ता चालिसेले बन्दसूची आजै निर्वाचन आयोगमा बुझाइने जानकारी दिँदै केही क्लस्टर मिलानमा समस्या देखिए आयोगसँग समायोजन गर्ने सुविधा रहने बताए ।

‘आजै बन्दसूची आयोगमा पठाउँछौं । केही क्लस्टरमा तलमाथि परेमा आयोगले आवश्यक समायोजन गर्न सक्ने व्यवस्था छ,’ उनले भने।

Share News