काठमाडौं । बैंकमा दैनिक हजारौं ग्राहकहरू आउने गर्छन् । तीमध्ये केही ग्राहक उच्च प्रोफाइलका हुन्छन् भने धेरै निक्षेप राखेर नियमित रूपमा कारोबार गरिरहेका हुन्छन् । कतिपय व्यवसायी हुन्छन्, कतिपय समाजसेवी, उच्चपदस्थ व्यक्तित्व वा वृद्धवृद्धा । यस्ता ग्राहकहरूका लागि बैंकमा लामो लाइन बस्ने समय वा सुविधा नहुन सक्छ । केही ग्राहकले आफ्नो बैंकिङ कारोबारमा गोपनीयता कायम गर्न पनि चाहन्छन् ।
बैंकिङ सेवामा ग्राहकको अपेक्षा पनि बदलिँदै गएको छ । धेरैजसो ग्राहकहरूलाई छिटो सेवा र झन्झटरहित बैंकिङ सुविधा चाहिन्छ । यसैलाई मध्यनजर गर्दै ग्राहकले चाहेको बैंकिङ सेवा छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स बैंकले सन् २०१९ मा ‘प्रिभिलेज बैंकिङ सेवा’ सुरु गरेको हो । बैंकले तोकेका निश्चित मापदण्ड पूरा गर्ने तथा निश्चित स्तरको कारोबार गर्ने ग्राहकलाई छनोट गरी यो सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
सिटिजन्स बैंकका रिलेशनसिप म्यानेजर विवेक श्रेष्ठका अनुसार हाल बैंकले देशभरका १५ वटा शाखाबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको हेड अफिस दरबारमार्ग, थापाथली, बौद्ध, न्युरोड, कोटेश्वर, कुमारीपाटी र डिल्लीबजार शाखा तथा उपत्यकाबाहिर झापाको बिर्तामोड, बुटवलको अमरपथ, कालिकानगर, सप्तरीको राजविराज, कास्कीको सिमलचौर, धनुषाको विद्यापति चोक र मोरङको विराटनगर शाखाबाट यो सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार प्रिभिलेज ग्राहकहरूसँग नियमित सम्पर्क राख्ने व्यवस्था गरिएको छ । प्रिभिलेज ग्राहकहरूले तोकिएका रिलेशनसिप म्यानेजर वा डीआरओलाई सम्पर्क गरेर सहज रूपमा सेवा लिन सक्ने उनको भनाइ छ । बैंकमा आएपछि उनीहरूलाई लाइन बस्नु नपर्ने गरी सेवा उपलब्ध गराइरहेको उनले बताए ।

‘ती ठाउँमा हामीले रिलेशनसिप म्यानेजर (आरएम) तोकेर राखेका छौं । साथै, डेडिकेटेड रिलेसनसिप अफिसर (डीआरओ) पनि छुट्याएका छौं,’ उनले भने, ‘ग्राहकहरूलाई प्रत्येक महिना फोन गरेर कुनै समस्या परेको छ कि छैन, कुनै बैंकिङ सेवा आवश्यक छ कि छैन भनेर जानकारी लिन्छौं र आवश्यक समाधान पनि गरिरहेका छौं । होम-बेस सेवा पनि दिइरहेको छौं । ग्राहकले फोन गरेर चेक साटिदिनु पर्यो भन्नु भयो भने हामी घरमै पुगेर सेवा दिन्छौं ।’
हाल प्रिभिलेज बैंकिङ सेवाका लागि १५ वटा शाखामा छुट्टै प्रिभिलेज काउन्टर सञ्चालनमा भएपनि भविष्यमा आवश्यकताका आधारमा थप विस्तार गरिने उनले बताए । प्रिभिलेज बैंकिङ सेवा उपलब्ध नभएका शाखाको हकमा शाखा म्यानेजरसँग भेट गरी लाइन नबसी छिटो सेवा पाउने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए ।
हाल सिटिजन्स बैंकका करिब २० लाखभन्दा बढी ग्राहक छन् । तीमध्ये २२ हजारभन्दा बढी ग्राहकले प्रिभिलेज बैंकिङ सेवा उपभोग गरिरहेका छन् । मोबाइल बैंकिङमै प्रिभिलेज ग्राहक भनेर आरएम र डीआरओको नाम समेत राखिएको हुन्छ । ग्राहकहरूले तोकिएका रिलेशनसिप म्यानेजरमार्फत बिना झन्झट सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
‘प्रिभिलेज बैंकिङ’ सेवाका लागि को-को योग्य छन् ?
सिटिजन्स बैंकका करिब २०० शाखा रहेका छन् । शाखाको प्रकृति र कारोबारका आधारमा विभिन्न क्याटेगोरीमा वर्गीकरण गरिएको छ । ‘काठमाडौंभित्रका शाखा एउटा क्याटेगोरीमा राखिएको छ भने उपत्यकाबाहिरका शाखामा स्थान र कारोबारअनुसार छुट्टै क्याटेगोरीमा राखिएको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका शाखामा बचत तथा मुद्दती खातामा पछिल्लो ६ महिनाको औसत ५० लाख रुपैयाँभन्दा बढी निक्षेप भएका तथा हाल कम्तीमा ३० लाख रुपैयाँ मौज्दात भएका ग्राहकले प्रिभिलेज सेवा पाउँछन् ।
यस्तै, उपत्यकाबाहिरका ‘ए’ देखि ‘सी’ क्याटागोरीका शाखामा ६ महिनाको औसत ३० लाख रुपैयाँभन्दा बढी निक्षेप राखेको र हाल २५ लाख रुपैयाँ मौज्दात भएका ग्राहक प्रिभिलेज बैंकिङ सेवाका लागि योग्य हुन्छन् । साथै ‘डी’ तथा ‘ई’ क्याटागोरीका शाखाको हकमा भने ६ महिनाको औसत २० लाख रुपैयाँ निक्षेप र न्यूनतम १५ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ ।
श्रेष्ठका अनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका ग्राहक, बैंकका वर्तमान तथा पूर्व सञ्चालक, कर्पोरेट वा सरकारी संस्थाका उच्च पदस्थ अधिकारीहरू प्रिभिलेज बैंकङ सेवाका लागि योग्य हुने छन् । विदेशी मुद्रामा खाता सञ्चालन गर्ने र खातामा कम्तीमा ३ हजार अमेरिकी डलर मौज्दात राख्ने ग्राहक पनि योग्य हुने छन् ।
साथै वार्षिक ४ करोड रुपैयाँभन्दा बढी कारोबार हुने बचत खाताधारक तथा वर्षमा कम्तीमा १५ वटा क्रेडिट कारोबार गर्ने ग्राहकलाई पनि यस सेवाका लागि योग्य हुनेछन् । त्यस्तै औसत ५० लाख रुपैयाँभन्दा बढी मौज्दात भएका कम्पनी सञ्चालक वा व्यवसायी तथा लगातार ६ महिनासम्म मासिक १ लाख रुपैयाँभन्दा बढी तलब पाउने तलब खाताधारकहरू पनि प्रिभिलेज ग्राहक बन्न सक्छन् ।
संस्थागत ग्राहकतर्फ औसत १० लाख रुपैयाँभन्दा बढी मौज्दात हुने चालु खाताधारक कम्पनी, कम्तीमा ५ हजार अमेरिकी डलर मौज्दात भएका विदेशी मुद्रा खाताधारक तथा कम्तीमा २० जना कर्मचारीका लागि तलब खाता सञ्चालन गर्ने पेरोल ग्राहकहरूलाई पनि प्रिभिलेज बैंकिङ सेवामा समेटिने बैंकले जनाएको छ ।
रकमका आधारबाहेक सामाजिक प्रतिष्ठाका आधारमा पनि प्रिभिलेज बैंकिङ सेवामा छनोट गरिने श्रेष्ठले बताए । उनका अनुसार व्यवसायी, समाजसेवी, ठूलो संस्थाका सञ्चालकगायत विभिन्न मापदण्ड पूरा गर्ने ग्राहकहरूलाई पनि प्रिभिलेज सेवा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार २५ हजारभन्दा बढी सेयर धारण गरेका सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरू पनि प्रिभिलेज सेवाका लागि योग्य हुने उनले बताए ।

साथै वर्षौंदेखि बैंकसँग कारोबार गरिरहेका केही ग्राहकहरूलाई पनि यस सेवामा समावेश गरिएको छ । श्रेष्ठका अनुसार प्रिभिलेज बैंकिङ सेवामा अतिरिक्त शुल्क लाग्दैन । अन्य ग्राहकलाई जस्तै सेवा शुल्क तोकिएको भए पनि प्रिभिलेज ग्राहकलाई केही विशेष सुविधा प्रदान गरिएको छ । प्रिभिलेज बैंकिङ सेवा उपभोग गरिरहेका बैंकका ग्राहकलाई भारतको मेदान्त हस्पिटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
‘एटीएम, मोबाइल बैंकिङ, भिजाकार्डमा पहिलो वर्ष निःशुल्क सेवा दिइन्छ । साथै डलर साटफेर तथा लकर सेवामा पनि विशेष छुट उपलब्ध गराइन्छ,’ उनले भने ।