काठमाडौं । पूर्वी नाका काँकडभिट्टा हुँदै ८ महिनामा ६ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन् ।
उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक भित्रिएको जानकारी दिए ।
सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका ३ हजार १३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या ६ हजार ५५२ रहेको छ भने १ हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट ८ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।