काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ । ग्लोबल मनी वीक-२०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा लगानी गर्दा सजग र विवेकशील बन्न सुझाव दिएको हो र
बोर्डका अनुसार धितोपत्र बजारमा समय-समयमा उतारचढाव आउन सक्ने भएकाले लगानी निर्णय गर्दा यथार्थ र विश्वसनीय सूचना संकलन गरी संयमित रूपमा निर्णय लिनु आवश्यक हुन्छ । नवप्रवेशी लगानीकर्तालाई प्राथमिक बजारबाट लगानी सुरु गर्न बोर्डले सुझाव दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशन गर्ने कम्पनीको आव्हान पत्र तथा विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक र व्यवस्थापन पक्ष, वित्तीय अवस्था तथा क्रेडिट रेटिङजस्ता विषयको विश्लेषण गर्नुपर्ने बोर्डको भनाइ छ ।
यस्तै, दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले सार्वजनिक गरेका कार्यसम्पादन विवरण, लाभांश घोषणा, हकप्रद सेयर, व्यवस्थापनमा परिवर्तन, भावी योजना, कम्पनीका आवधिक तथा वार्षिक प्रतिवेदन, वित्तीय सूचकांक तथा सेयर मूल्यको प्रवृत्तिजस्ता पक्ष अध्ययन गर्न पनि बोर्डले आग्रह गरेको छ ।
बोर्डले लगानी गर्दा कम्पनीको आधारभूत पक्ष जस्तै वित्तीय विवरण, व्यवस्थापन, उद्योग तथा व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल र प्रतिस्पर्धात्मक अवस्थाको पनि अध्ययन गर्नुपर्ने जनाएको छ ।
लगानी गर्नुअघि आफ्नो लगानीको उद्देश्य, समयावधि र अपेक्षित आम्दानीबारे स्पष्ट हुन पनि बोर्डले सुझाव दिएको छ। धैर्यता, लगनशीलता र दीर्घकालीन दृष्टिकोण राखेर लगानी गर्नुपर्ने सन्देश बोर्डले दिएको छ ।
सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट अनुमान, प्रक्षेपण वा परामर्शको आधारमा मात्र लगानी निर्णय नगर्न बोर्डले चेतावनी दिएको छ। यस्ता माध्यमबाट हुने धोका, जालसाजी तथा छलकपटबाट बच्न लगानीकर्ताले स्वविवेक प्रयोग गर्नुपर्ने बोर्डले जनाएको छ ।
अरुको देखासिखी वा लहलहैमा लागेर लगानी नगर्न पनि बोर्डले सुझाव दिएको छ। लगानीका अवसरहरू स्वतन्त्र रूपमा अध्ययन गर्न, निर्णयमा हतार नगर्न तथा अत्यधिक नाफाको ग्यारेन्टी दिने प्रस्तावप्रति सतर्क रहन बोर्डले आग्रह गरेको छ ।
सेयर बजारमा मुद्रास्फीति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले लगानी गर्दा यस्ता पक्षलाई पनि ध्यानमा राख्नुपर्ने बोर्डको भनाइ छ ।
जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरण गर्न, आपतकालीन कोष राख्न तथा जोखिमको उचित व्यवस्थापन गर्न बोर्डले सुझाव दिएको छ । साथै, भित्री सूचनाका आधारमा हुने कारोबार, कर्नरिङ वा अस्वाभाविक मूल्य उतारचढावजस्ता गतिविधिबाट टाढा रहन पनि लगानीकर्तालाई सचेत गराइएको छ ।
धितोपत्र कारोबार गर्दा रकमको लेनदेन बैंकमार्फत मात्र गर्न तथा धितोपत्र दलालले लिने शुल्कबारे कानुनी व्यवस्था बुझ्न पनि बोर्डले आग्रह गरेको छ। बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्न पनि सुझाव दिइएको छ।