काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त गरेको छ ।
आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा कस्तुरी फार्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका तर्फबाट ग्रीष्म चालिसेले हस्ताक्षर गरे । कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी आगामी साउनभित्र आईपीओ जारी गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
आईपीओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिनुपर्ने हुन् छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ ।
कम्पनीका अनुसार हाल प्रति सेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ । आईपीओ अघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत पनि लगानी जुटाउने योजना बनाएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रति सेयर आम्दानी (ईपीएस) ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ । यस्तै, कम्पनीले आफ्नो ऋण दायित्व क्रमशः घटाउँदै लैजाने योजना समेत अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको ऋण २४.५७ करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा उक्त ऋण घटाएर ८.३० करोड रुपैयाँमा झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।