काठमाडौं । मान्छेको शरीर चिरेर फेरि मिलाउनु आफैमा सहज कार्य होइन । अझ त्यसमाथि एउटा व्यक्तिबाट झिकेको अंग अर्को व्यक्तिको शरीरमा मिलाउन कति चुनौती ? काम गर्दागर्दै कथमकदाचित तलमाथि भइदिने हो भने आफ्नै ज्यानको सुरक्षा हुँदैन । यसका बाबजुद आफ्नो काममा सतप्रतिशत दिन मिहिनेत गरिरहेका शल्य चिकित्सक हुन् डा. रामबाबु साह ।
जो वर्षौंदेखि मान्छेको कलेजो, पित्तथैली, पाचन प्रणाली, नसा लगायत शरीरका अंग चिर्दै मिलाउँदै निको पार्ने काम गरिरहेका छन् । चीन, भारत, कोरिया लगायतका देशमा काम गरेको अनुभवलाई साह अहिले नेपालमा प्रयोग गरिरहेका छन् ।
उनी उतिबेला विदेशका अस्पतालमा काम गर्दै थिए, जतिबेला नेपालमा कलेजो प्रत्यारोपण गरेर पनि ज्यान बचाउन सकिन्छ भन्ने आम नागरिकलाई थाहा थिएन । अहिले मान्छे आफै जान्ने बुझ्ने भइसकेका छन् । स्वास्थ्यमा समस्या हुँदा अस्पताल पुग्छन्, चिकित्सकको सल्लाह लिन्छन् तर नेपाली अस्पताल, नेपाली चिकित्सकमाथि विश्वास गर्न उत्तिकै डराइरहेको साह बताउँछन् ।
कलेजो प्रत्यारोपण शल्यचिकित्साका रूपमा काम गरिरहेका रामबाबुले २५ जनाको कलेजो सफल प्रत्यारोपण गरेका छन् । उनी यो अवधिमा आफूले गरेको सबैभन्दा ठूलो उपलब्धि ठान्छन् ।
भक्तपुरमा रहेको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा करिब दुई वर्ष काम गरेका डा. साह अहिले ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् । जहाँ साह लगायत चिकित्सकको टोलीले दुई जना बिरामीको कलेजोको सफल शल्यक्रिया गरिसकेका छन् ।
शरीर चिर्दाको अनुभव
व्यक्तिको शरीर चिर्नु, सुन्दा रमाइलो लाग्दैन । जति सुन्दा रमाइलो लाग्दैन, त्यत्तिकै अंग चिर्दा पनि सायदै राम्रो लाग्दैन पनि । तर, व्यक्तिको ज्यान जोगाउनु चिकित्सकको धर्म र कर्तव्य हो । कुनै पनि अंग प्रत्यारोपण सर्जरीमा एउटा दुईटा चिकित्सक मात्र हुँदैनन् । नर्सदेखि फिजिसियन, चिकित्सक लगायतको एउटा सिंगो समूह आवश्यक पर्छ । जहाँ सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।
डा. रामबाबु सर्जरीको लागि कोठाभित्र पस्दा दिमागमा कसरी यो सर्जरी सफल बनाउने भन्ने बाहेक कुनै कुरा नखेल्ने बताउँछन् । उनी भन्छन्, ‘कसरी शरीर चिर्ने भन्ने पिर हुँदैन, केवल कसरी अङ्ग लिने र दिने दुवैको स्वास्थ्य ठिक राख्ने भन्ने कुरा बढी खेल्छ ।’ अन्य सर्जरी जस्तो अंग प्रत्यारोपणको सर्जरी छोटो समयमा हुँदैन कलेजो प्रत्यारोपणका लागि १५/१६ घण्टा भन्दा धेरै समय लाग्छ । यस्तो बेला शारीरिक र मानसिक दुवै रुपमा व्यक्ति थाकेको हुन्छ । थाकेको शरीर र मानसपटलले कसरी केस सफल पार्ने भन्ने कुरा सोच्छ ।
‘अंग दिने र लिने व्यक्ति दुवैको ज्यानको जिम्मा लिइसकेपछि जिम्मेवारी कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने कुराले दिमाग अन्त जान पाउँदैन,’ साह बताउँछन् ।
एकातिर कलेजो निकालेर धेरै बेर छोड्न मिल्दैन भने अर्कोतिर बिरामीको पनि बिग्रेको कलेजो निकालेर त्यत्तिकै छोड्न मिल्दैन । अंग लिने र दिने दुवैको उपचार सँगसँगै भइरहेको हुन्छ भने दुवै समूहका प्रतिनिधिको सञ्चार पनि भइरहेको हुन्छ । कलेजोमा रगत धेरै हुन्छ । कलेजो निकाल्दा जति कम रगत बग्यो त्यत्रि राम्रो मानिन्छ । यो र्सजरी गर्न कम्तिमा पनि १२ देखि १५ घण्टासम्म लाग्छ । अझ भर्खरको युवा उमेरको अंगदाता छ जसको बिहे भएको छैन भने अझ विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता कुरामा सबै काम गरिने भनेकै समूहमा छलफल गरेर हो ।
डा. शाह अंग दिने व्यक्तिको स्वास्थ्य पनि राम्रो होस्, अंग लिएको व्यक्तिको पनि छिटो अंगले काम गरोस् भन्ने हिसाबले सबैजना काम गर्ने बताउँछन् ।
कलेजोमा समस्या भएका बिरामीमा अंग प्रत्यारोपण गर्नुपूर्व पेटमा पानी भरिएको हुन्छ, कतिपयलाई जण्डिस भएको हुन्छ, खुट्टा सुन्निएको हुन्छ भने अनुहार समेत कालो भइसकेको हुन्छ । जब अंग प्रत्यारोपण गरिन्छ त्यसपछि त्यो सबै निको भएर जान्छ ।
कलेजो दान गर्ने व्यक्तिको अंग झिकेको दुईदेखि तीन महिनामा कलेजो पहिलेकै तहमा पलाइसक्छ । काम पनि त्यही अनुसार गर्छ जस्तो पहिले गर्थ्यो । उसलाई देखिने असर भनेको चिरा परेको ठाउँमा केही दाग देखिन्छ र केही दिन फलोअपमा आउनुपर्छ । त्योभन्दा बाहिर अंग दिने व्यक्तिलाई कुनै गाह्रो पर्दैन ।
नेपालमा अंग पाउनै समस्या
अहिले नेपालका सरकारी तथा निजी धेरै अस्पतालमा कलेजो प्रत्यारोपण गरिन्छ । कलेजो प्रत्यारोपणका लागि आवश्यक विश्वस्तरको सेवा नेपालका अस्पतालले प्रदान गरिरहेका छन् । यसका बावजुत पनि बिरामीलाई अंग पाउन निकै गाह्रो छ । अंग पाएकाहरूको पनि कसैको रगत नमिल्ने, कसैको रगत मिले पनि कलेजोमा बोसो धेरै भइदिने यावत समस्या आउँछन् । कुनै अंगदाता भेटिए पनि कलेजो सानो हुन्छ भने कसैलाई डाइवेटिज भइदिन्छ । जसका कारण धेरै बिरामी अहिले पनि अंग कुरेर बसिरहेका छन् ।
डा. साह नेपालको डिजज डोनरको प्रर्णालि (मृत दाता पर्णाली) नै राम्रो नभएको बताउँछन् । नेपालमा सवारी दुर्घटनाका कारण धेरै व्यक्तिको मृत्य हुन्छ । तीन महिनामा ठूला दुर्घटना हुँदा धेरैको मृत्यु भयो । तर, तिनीहरूको अंगको सदुपयोग गर्न सरकारले सकेन । ‘यसको प्रटोकल नेपालमा ल्याइदिएको भए मृत्यु भएका व्यक्तिको अंगबाटै धेरैको ज्यान बच्थ्यो, ‘उनी भन्छन्, ‘भएको प्रोटोकल सिमित छ । नेपालमा वर्षमा करिब तीन सय जनाको कलेजो प्रत्यारोपण आवश्यक पर्छ । तर वर्षमा २०/२५ जनाको प्रत्यारोपण हुँदैन ।’
तर, भारतमा वर्षमै करिब एक सय नेपालीले गर्छन् । साहका अनुसार सन् २०२४/०२५ मा एक वर्षमा ७३ जना नेपालीले दिल्लीका विभिन्न अस्पतालमा कलेजो प्रत्यारोपण गराएका छन् ।
बुवाको व्यापार छोडेर चिकित्सक
डा.रामबाबुको घर जनकपुर ५ पुरानो बजार हो । उनी त्यही जन्मे, हुर्के र पढे । उनको बुवाको भाँडा पसल थियो । बजारमा सबैभन्दा पुरानो भाडा पसल उनकै थियो । उनका बुवालाई छोरा चिकित्सक बनेको हेर्न मन थियो । उनले जनकपुरमै कक्षा १२ सम्म पढे । प्लस टु पास गरिसकेपछि उनलाई पनि चिकित्सा शिक्षा लिन मन लाग्यो । उनी काठमाडौं आएर तयारी गर्न थाले । त्यो बेला एमबीबीएस गर्न चीन जानेको लर्को थियो । उनले पनि चीन पढ्न जाने योजना बनाए । त्यो बेला उनको छिमेकी एक जना साथी चीन पढ्दै थिए । उनले यो विषयमा उनीसँग सल्लाह लिए । त्यसपछि उनी एमबीबीएस गर्न चीन गए । त्यहाँ ६ महिना चिनियाँ भाषा सिके । त्यसपछि उनले पढाइ सुरु गरे ।
चीनमा पढिसकेपछि उनले नेपाल आएर वीर अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे । फेरि एमडीएमसका लागि चाइनाको छात्रवृत्ति पाए । उनले मास्टर अफ जर्नल सर्जरीबाट मास्टर गरे । सन् २००९ देखि २०१२ सम्म उनी चाइनामै बसे । पछि नेपाल फर्केर जकपुरमा रहेको जानकी मेडिकल कलेजमा काम गरे । उनलाई काम गर्दै जाँदा यही पढाइलेमात्र कलेजो प्रत्यारोपण वा आन्द्राको सल्यक्रियामा सीप अपुग जस्तै लाग्यो । सन् २०१४ मा डक्टर इन हेपाटो बिलियरी प्यान्क्रियाटो (एचपीबी) सर्जरी अध्ययनका लागि चीन गए । उनी चीनमा पढाइ र कामसँगै करिब १८ वर्ष बिताएको बताउँछन् । सन् २०१७ मा पढाइ सकेर उनले दुई वर्ष उतै काम गरे ।
उनकी श्रमती पनि उनीसँगै पढ्दै थिइन् । उनले जीवनभरी यहाँ बस्न नसकिने बरु नेपालमै गएर काम गर्ने सल्लाह दिइन् । उनकी श्रीमती अहिले पाटन अस्पतालमा काम गरिरहेकी छन् । श्रीमतीको सल्लाहपछि उनी भारत फर्के । उनले भारतको एपलो अस्पतालमा गएर काम गरे । सन् २०१९ देखि २०२३ सम्म उनले त्यही काम गरे । त्यसपछि उनी कोरियामा गए । त्यहाँ पनि उनले केही समय काम गरे । त्यसपछि उनको नेपालको यात्रा तय भयो ।

कलेजो रोजाइ
साह सन् २०१४ मा हेपाटो बिलियरी प्यान्क्रियाटो (एचपीबी) सर्जरी मा अध्ययन गर्दै थिए । अध्ययन गर्दै जाँदा सर्जरी पनि गर्नुपथ्र्याे । सर्जरी गर्दा कहिलेकाँही रातको १०/११ पनि बज्थ्यो । रातको ड्युटी सकेर उनी घर जाँदा उनी केही चिकित्सक सर्जरीको तयारीमा लागेको देख्थे । उनलाई राती घर जाने बेला किन के को सर्जरी गरिन्छ भन्ने कौतुहोलता लाग्यो । बुझ्दै जाँदा कलेजो प्रत्यारोपणका केशहरूको सर्जरी प्राय राति नै गरेको थाहा पाए । अर्को कुरा अप्रेसन सफल भएका बिरामीहरू उज्यालो अनुहार बनाउँदै फलोअपमा आउँथे ।
त्यसपछि उनलाई यो विषयमा रुचि बढ्यो । उनले आफ्नो रुचि आफ्नो प्रोफेसरसँग राखे । उनले सुरुमा काम गरेको हेर्नमात्र भए पनि आफूलाई त्यो शल्यक्रियामा सहभागी गराइदिन भने । उनी दुई चार केसको शल्यक्रियामा सहभागी भए ।
हेर्दै काम गर्दै गर्दा उनलाई कलेजो प्रत्यारोपण शल्यक्रियामा काम गर्न रमाइलो लाग्यो । त्यो बेला नेपालमा कलेजो प्रत्यारोपण सुरुवात थिएन । उनले भोलि नेपालमा गएर काम गर्न पनि सहज हुने कल्पना गर्दै कलेजो प्रत्यारोपणमा चासो राखे । तर, उनको विशेषज्ञता कलेजो प्रत्यारोपणमा मात्र होइन, आन्द्रा, नसा चिरेर मिलाउनेमा पनि छ । डा. साह नेपालको अंग प्रत्यारोपण उपचार प्रणाली र चिकित्सकले पाउने सेवा सुविधा, चिकित्सकको सुरक्षाका विषयमा लिएर सन्तुष्ट छैनन् ।
खुसी छैन मन
रामबाबुसँग विभिन्न देशमा काम गरेको अनुभव छ । उनी विदेशमा पाएको अवसरलाई छोडेर नेपाल आए । तर, उनीसँग नेपालमै काम गरिरहेका साथीहरू धमाधम विदेश गइरहेका छन् । दिनहुँ नर्स चिकित्सक विदेश गएकोमा उनी पनि जानकार छन् । यसरी साथीहरू विदेश जाँदा उनको चित्त दुख्छ । नेपालमा चिकित्सकको कमाइले परिवार पाल्न मुस्किल हुँदा र काम गर्ने वातावरण नहुँदाको अवस्थाले विदेशिनुपर्ने बाध्यता रहेको उनको तर्क छ ।
उनी भन्छन्, ‘नेपालमा चिकित्सकले जति काम गरेपनि परिवार पाल्न पुग्दैन, मैले शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा काम गर्दाको पुरै स्टेटमेण्ट राखेको छु, त्यो हेर्दा पनि आफैले पाएको सेवा सुविधामा दुःख लाग्छ ।’
यही कारण आफू जस्ता थुपै्र चिकित्सक असन्तुष्ट रहेको उनको भनाइ छ । डा. रामबाबुका श्रीमान श्रीमती दुवैजना चिकित्सक हुन् । रामबाबुलाई बेला बेला नेपालको अवस्था नेपाली चिकित्सकले पाउने सेवा सुविधाले पिरोल्छ । राम्रो देशमा काम गर्ने याद आउँछ । तर, श्रीमतीलाई आफ्नै देश प्यारो लाग्छ ।
उनका दुई जना सन्तान छन् । ‘थोरै धेरै कमाए पनि एउटै ठाउँमा बसौं छोराहरू पढाऔं । परिवारसँगै बसौं भन्नुहुन्छ, श्रीमतीको सहमतिमा म पनि अहिले नेपालमै बस्ने योजनामा छु । तर, बिस्तारै अवस्था कस्तो आउँछ समयले कहाँसम्म लैजान्छ अहिले भन्न सकिँदैन,’ उनी भन्छन् ।
दिक्क लागेको बेला उनलाई आफ्नो बुवाको भाँडा पसलको याद आउँछ । उनी भन्छन्, ‘त्यो बेला न बुवाको व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने सोच आयो न बुवाले यो व्यापार सम्हाल्नुपर्छ भन्नुभयो, तर अहिले लाग्छ त्यो व्यवसायलाई अगाडि बढाएको भए खुसी भएर बस्न पाइन्थ्यो कि ।’
जब बेलाबेला काम गर्दा गर्दै कता के नमिलेको, के अपुग भएको लाग्छ व्यापार नै गरेको भए हुन्थ्यो कि भन्ने उनलाई अहिले लाग्छ । जब श्रीमतीले नेपालमा जेसुकै काम गरेर पैसा कमाउन संघर्ष गर्नुपर्छ भन्नुहुन्छ, त्यसपछि आफूले गरिरहेको काममा सतप्रतिशत दिएर काम गर्न मन लाग्छ ।
उनी नेपालमा काम गर्ने चिकित्सकको सेवा सुविधा कसैको प्राथमिकतामा नपरेको बताउँछन् । ‘पढाइमा खर्च गरेको लगानीको ब्याज तिर्न समेत पुग्दैन । धेरैजसो चिकित्सकले आफ्नो पेशा छोडेर अर्को व्यवसाय रोजिसकेका छन्,’ निराश हुँदै उनले भने ।
उनी यो असन्तुष्टि चिकित्सकमा मात्र नभई नर्सिङ, फिजियोथेरापी, डाइटिसियन सबैमा रहेको बताउँछन् ।
नेपाली चिकित्सक र स्वास्थ सेवाप्रति अविश्वास
रामबाबु नेपाली चिकित्सक, नेपाली उपचारप्रति अहिले पनि नेपालीको विश्वास नरहेको बताउँछन् । उनी यसको पछाडि सरकार, फिजिसियन, चिकित्सक सबैको भूमिका हुने बताउँछन् ।
‘हामीले डिजिज डोनरको कार्यक्रम राम्रो बनाउन सकियो भने पनि धेरै नेपाली नेपालमै रोकिन्छन्,’ उनी भन्छन्, ‘विश्वका अन्य देशमा विभिन्न एप हुन्छन्, कुन बिरामीलाई कसको अंग जान्छ सबैलाई थाहा हुन्छ, तर यहाँ भएको कार्यक्रम पनि एउटा अस्पतालमा मात्र सीमित गरेर राखेको छ, यसप्रति न सरकारको चासो छ, न नागरिकको ।’
कुनै पनि जीवित व्यक्तिले अंग दान गर्दा अंग दिने व्यक्तिको जीवन सतप्रतिशत सुरक्षित भनेमात्र शरीर चिरेर अंग लिने गरिन्छ । यदि सुरक्षित हुने देखिएन भने ओटीमा गएको बिरामीलाई फर्काउने गरिन्छ ।
अंग लिने र दिने भनेर मात्र हुँदैन । यसका लागि सबै प्रक्रिया मिल्नुपर्छ । सबैभन्दा पहिले नेपालकोे कानुन अनुसार अंग दिने व्यक्ति लिने व्यक्तिको आफन्त हुनुपर्छ । त्यसपछि रगतको ग्रुप मिल्नुपर्छ । त्यसपछि चरण–चरणमा गरिने सबै मेडिकल टेस्टहरू गरिनुपर्छ र ती सबै कुरा मिल्नुपर्छ ।
कलेजको अवस्था, सुगर प्रेसर किड्नीको जाँच गरिसकेपछि सिटी, एमआर पित्तको नसा कलेजोको नसा, साइज सबै हेरिन्छ । कलेजो हामीले यति लिनुपर्छ जति दिने मान्छेलाई पलाउन पर्याप्त होस् र यति पनि लिनुपर्छ जति लिने व्यक्तिलाई पर्याप्त होस् । दुवैलाई बराबर गरेर पुग्ने हिसाबले मात्र अंग लिइन्छ ।
नेपालमा अहिले पनि बिरामी अस्पताल आउन नसकेको र जनमानसमा पनि विश्वास छैन । धेरैलाई अंग प्रत्यारोपण गरिन्छ भन्ने विश्वास छैन, कसैले अंगदाता नै पाउँदैनन्, कसैसँग पैसा नै हुँदैन ।
एकपटक बिग्रिसकेको कलेजो फर्केर आउँदैन । कलेजो बिग्रिसकेपछि किड्नी, मुटु, फोक्सो सबै भागमा असर गर्छ । यति भइसकेपछि प्रत्यारोपण गर्दा पनि सम्भव हुँदैन । कलेजोमात्र बिग्रेको छ अरु अंगमा असर परेको छैन भने कलेजो प्रत्यारोपण गर्न सकिन्छ । तर, सँगै अन्य अंगमा पनि समस्या आइसकेको छ भने गाह्रो पर्छ । विश्वका कतिपय अस्पतालमा कलेजो र किड्नी सँगै प्रत्यारोपण गरेको पनि देखिन्छ । तर, त्यो निकै जटिल हुन्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको व्यक्तिलाई लक्षण देखा परिसकेको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।