ट्रम्पको दावी– इरान वार्ता गर्न खोजिरहेको छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न खोजिरहेको दावी गरेका छन् । ट्रम्पले ‘एयर फोर्स वन’मा पत्रकारहरूसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन् ।

साथै उनले गलत जानकारी फैलाउन इरानले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरिरहेको आरोप पनि लगाए ।

ट्रम्पका अनुसार इरान सम्झौता गर्न निकै आतुर छ । कूटनीतिक वार्ताबारे उनले भने, ‘हामीले उनीहरूसँग कुरा गरिरहेका छौं, तर मलाई लाग्दैन कि उनीहरू अहिले नै तयार छन् । यद्यपि उनीहरू निकै नजिक पुगिसकेका छन्।’

उता इरानका विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार भने इरानले कहिल्यै पनि युद्धविरामको माग नगरेको र न त वार्ताको माग गरेको बताएका छन् ।

जब ट्रम्पसँग इरानमाथि जित घोषणा गर्न तयार हुनुहुन्छ कि भनेर सोधियो, उनले भने, ‘त्यसो गर्ने कुनै कारण छैन।’

उनले अमेरिकाले यति धेरै क्षति पुर्याएको दाबी गर्दै भने, ‘यदि हामी अहिले उनीहरूलाई छोडिदियौं भने फेरि उभिन उनीहरूलाई १० वर्ष लाग्न सक्छ ।’

युरोपेली देशले स्ट्रेट अफ हर्मुज खुलाउन सहयोग नगरे नाटोको भविष्यका लागि खतरा

ट्रम्पले यदि युरोपेली देशहरूले स्ट्रेट अफ हर्मुज खुलाउन सहयोग नगरे भने त्यो नाटोको भविष्यका लागि ुधेरै खराबु हुने बताएका छन् ।

यससँगै ट्रम्पले बेइजिङमा हुने आफ्नो आगामी भेटघाटअघि सी जिनपिङले चीनको तर्फबाट होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने आशा व्यक्त गरेका छन् । उनले चीनले ‘आफ्नो करिब ९० प्रतिशत तेल यही जलडमरूमध्यबाट प्राप्त गर्ने’ बताएका छन् ।

ट्रम्पले यी कुरा फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा बताएका हुन् ।

बेइजिङमा हुने उक्त भेटघाट मार्चको अन्त्यतिर तय गरिएको छ । तर ट्रम्पले बैठक हुनुअघि नै चीनले कुनै कदम चालोस् भन्ने आफूले चाहेको बताएका छन् । उनका अनुसार बैठक हुन अझै दुई हप्ता बाँकी भएकाले त्यो ‘धेरै लामो समय’ हो ।

उनले आफ्नो चीन भ्रमण स्थगित पनि हुन सक्ने बताएका छन्, यद्यपि यसबारे थप स्पष्ट जानकारी भने दिएका छैनन् ।

नाटो र युरोपेली सहयोगीबारे बोल्दै अमेरिकी राष्ट्रपतिले स्ट्रेट अफ हर्मुजबाट लाभ लिने देशहरूका लागि यसलाई पुनः खुलाउन सहयोग गर्नु ‘उचित’ हुने बताएका छन् ।

ट्रम्पका अनुसार युरोप र चीन खाडी क्षेत्रबाट आउने तेलमा निकै निर्भर छन् ।

उनले चेतावनी दिँदै यदि अन्य देशहरूबाट कुनै प्रतिक्रिया आएन भने त्यो ‘नाटोको भविष्यका लागि निकै खराब’ हुन सक्ने बताएका छन् । साथै उनले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूसँग ‘धेरै नरम’ रहेको पनि बताएका छन् ।

ट्रम्पको यो टिप्पणी उनले एक दिनअघि चीन, फ्रान्स, जापान, साउथ कोरिया र बेलायतलाई स्ट्रेट अफ हर्मुज पुनः खोल्न ‘साझा प्रयास’मा सहभागी हुन आह्वान गरेपछि आएको हो ।

Share News