काठमाडौं । नेपालमा ‘मेड इन नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै नवलपरासीमा स्थापना गरिएको हुण्डाई एसेम्बली प्लान्टले देशको औद्योगिकीकरण यात्रामा महत्त्वपूर्ण मोड ल्याएको छ । करिब दुई वर्षअघि सञ्चालनमा आएको उक्त प्लान्टले छोटो अवधिमै आर्थिक, प्राविधिक र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले हालसम्म करिब दुई हजारभन्दा बढी हुण्डाई गाडी नेपाली इञ्जिनियर र प्राविधिकहरूको सक्रिय सहभागितामा उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो उपलब्धि केवल उत्पादनको हिसाबले मात्र महत्त्वपूर्ण नभई नेपाली जनशक्तिको क्षमता, दक्षता र आत्मविश्वासको प्रमाण पनि हो ।
सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्दै आएकाे छ । थपलियाका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् ।

उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक थपलियाले जानकारी दिए ।
उनले उत्पादन योजना, गुणस्तर सुनिश्चितता, उपकरण सञ्चालनदेखि अर्ध-रोबोटिक एसेम्बली प्रक्रियासम्मका काममा नेपाली प्राविधिकहरूले प्रत्यक्ष अनुभव हासिल गरिरहेको बताए । यसले नेपाली प्राविधिकहरूलाई आधुनिक औद्योगिक प्रणालीसँग परिचित गराउँदै भविष्यका ठूला औद्योगिक परियोजनाका लागि तयार बनाइरहेको उनको भनाइ छ ।
थपलियाका अनुसार यस पहलले कार उत्पादन मात्र होइन, औद्योगिक अनुशासन, प्रक्रियागत मानकीकरण र सूक्ष्म इञ्जिनियरिङ जस्ता पक्षहरूलाई पनि स्थानीय स्तरमै स्थापित गर्न मद्दत गरिरहेको छ । यस्तो अनुभवले दीर्घकालीन रूपमा नेपालको आफ्नै औद्योगिक क्षमता निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने उनले बताए ।
थपलियाले स्थानीय प्रतिभामा आधारित यस्ता उद्योगहरूले अर्थतन्त्रका विभिन्न तहमा मूल्य अभिवृद्धि गर्दै आपूर्ति शृङ्खलालाई बलियो बनाउने र नेपाललाई क्रमशः आत्मनिर्भर औद्योगिक प्रणालीतर्फ लैजान सहयोग गर्ने उल्लेख गरे ।
उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको उपस्थितिले लगानीसँगै प्रविधि, व्यवस्थापन प्रणाली र औद्योगिक कार्यसंस्कृति पनि भित्र्याउँछ । जब नेपाली इञ्जिनियर र प्राविधिकहरूले यस्तो संरचित वातावरणमा काम गर्ने अवसर पाउँछन्, उनीहरूले उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण र औद्योगिक सञ्चालनका आधुनिक तरिका प्रत्यक्ष रूपमा सिक्ने मौका पाउँछन् ।
यसका साथै यस्ता उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, प्राविधिक सीप विकास गर्ने तथा ढुवानी र सहायक सेवाजस्ता क्षेत्रलाई पनि सक्रिय बनाउने उनले बताए । यसबाट देशको समग्र आर्थिक गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरिएको छ ।

थपलियाले आगामी दिनमा सीप विकासलाई अझ गहिरो बनाउने, उत्पादन क्षमता विस्तार गर्ने र औद्योगिक उत्पादनको सटीकता सुधार गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनका अनुसार यस्तो मोडललाई निरन्तरता दिन सकिएमा नेपाल व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमुखी, सीप–आधारित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम अर्थतन्त्रतर्फ अघि बढ्न सक्नेछ ।
उनले ‘मेड इन नेपाल’ हुण्डाई कार उत्पादनको पहलले नेपालमा औद्योगिकीकरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको र स्थानीय जनशक्ति, प्रविधि हस्तान्तरण तथा सीप विकासमार्फत देशको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।
सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो ।
नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ ।
लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ ।