नवनिर्वाचित सांसदहरूलाई रास्वपाको अभिमुखीकरण तालिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका र जिम्मेवारीबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार र बुधबार दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गरेका तथा नयाँ जिम्मेवारी सम्हाल्न लागेका सांसदहरूलाई संसदीय अभ्यास, विधायी प्रक्रिया, आचरण तथा पार्टीको नीतिगत दिशाबारे स्पष्ट जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

अभिमुखीकरण कार्यक्रममा संसदमा प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने तरिका, कानुन निर्माण प्रक्रियामा सांसदको जिम्मेवारी, संसदीय समितिहरूको काम, सार्वजनिक सरोकारका विषय उठाउने विधि तथा पार्टीको रणनीतिक प्राथमिकताबारे छलफल हुनेछ । 

यसका साथै जनतासँगको सम्बन्ध सुदृढ बनाउने, पारदर्शिता कायम राख्ने तथा सुशासन प्रवर्द्धन गर्ने विषयमा पनि प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले ७ बुँदे निर्देशनसमेत जारी गरेको छ। उक्त निर्देशनमा समयपालन, अनुशासन, गोपनीयता कायम गर्ने, कार्यक्रममा पूर्ण रूपमा सहभागी हुने तथा पार्टीको आचारसंहिताको पालना गर्ने विषय समेटिएको प्रवक्ता बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले संसदीय भूमिकालाई प्रभावकारी र व्यवस्थित बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई आवश्यक मान्दै आएको छ। पार्टीका अनुसार नयाँ सांसदहरूलाई नीति, प्रक्रिया र जिम्मेवारीबारे स्पष्ट बनाउँदै संसदमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।

null

Share News