काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा विभिन्न कम्पनीको ७ अर्ब ४९ करोड रुपैयाँको बोनस सेयर सूचीकृत भएको हो ।
चालु आवको ७ महिनामा २१ अर्ब ९६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ) सूचीकृत हुँदा ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर सूचीकृत भएको छ ।
यसअवधिमा ७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल ५० अर्ब ९४ करोड रुपैयाँको थप सेयर नेप्सेमा सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १३ करोड रुपैयाँको म्युचुअल फण्ड, ६ अर्ब ६४ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ४१ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड रुपैयाँको सेयर निष्काशनका लागि अनुमति दिएको छ ।