पोलले रोकेको पृथ्वी राजमार्ग विस्तार: नागढुङ्गा-मुग्लिन खण्डमा काम ठप्प

काठमाडौं । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा-मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । 

विशेषगरी नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन ।

आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ ।

सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ ।

सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो ।

पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गरे । ‘काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ’, उनले भने ।

काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ । 

Share News