देशभर ६० वर्षभन्दा माथिका ४७४ उम्मेदवार, ११ जना मात्रै विजयी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या उल्लेख्य भए पनि जित्नेको संख्या भने निकै कम देखिएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार देशभर ६० वर्षभन्दा माथिका ४७४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये ११ जना मात्रै निर्वाचित भएका छन् ।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा देशभर विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचनमा उम्मेदवारको रोजाइमा रास्वपा भएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रायः सबै जना युवा भएको हुँदा ६० वर्षभन्दा माथिका अधिकांश उम्मेदवारहरूले पराजय बेहोर्नुपरेको छ । निर्वाचनमा राजनीतिमा लामो अनुभव भएका चर्चित  नेताहरू पनि यसपटक मतदाताको रोजाइमा पर्न सकेनन् ।

निर्वाचित हुने ६० वर्ष माथिका उम्मेदवारहरूमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५ जना, रास्वपाबाट उम्मेदवार भएका ३ जना, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट १/१ जना र स्वतन्त्र उम्मेदवार १ जना रहेका छन् ।

कांग्रेसबाट जित्ने ६० वर्ष माथिको उम्मेदवारमा मनाङ १ बाट उठेका ७१ वर्षीय टेकबहादुर गुरुङ, अछाम–१ का ७० वर्षीय भरतकुमार स्वार, डोटीका ६८ वर्षका भरतबहादुर खड्का, सोलुखुम्बुका ६२ वर्षीय प्रकाशसिंह कार्की र बाजुराका ६० वर्षीय जनकराज गिरी छन् ।

मनाङमा कांग्रेस उम्मेदवार गुरुङले २ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ४५४ मतसहित दोस्रो भइन् । अछाम १ बाट कांग्रेस उम्मेदवार स्वार १० हजार ७५९ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका भीमबहादुर रावल १० हजार २३३ मतसहित दोस्रो भए । 

त्यस्तै, डोटीमा कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतसहित दोस्रो भए । सोलुखुम्बुमा कांग्रेस उम्मेदवार कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राइले ९ हजार ४१४ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । बाजुरामा कांग्रेस उम्मेदवार गिरीले १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मतसहित दोस्रो भए ।

रास्वपाबाट विजयी भएका ६० वर्षभन्दा माथिका तीन उम्मेदवारहरूमा सप्तरी–४ बाट सिताराम साह, कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र दाङ–१ बाट देवराज पाठक छन् । साह ६५ वर्ष, थापा ६३ वर्ष र पाठकको उमेर ६० वर्ष रहेको छ ।

सप्तरी ४ बाट रास्वपाका उम्मेदवार साह ३६ हजार ४१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो भए । कपिलवस्तु २ मा रास्वपाका उम्मेदवार थापा २७ हजार ६३५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ४८२ मत ल्याएर दोस्रो स्थानमा सीमित भए ।

त्यस्तै, दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठकले ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतमा प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार योगेन्द्र चौधरी १५ हजार २८० मतसहित दोस्रो भए ।

नेकपाबाट जित्ने उम्मेदवारमा रुकुम–पूर्वबाट उठेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी ७० वर्षका छन् । त्यस्तै, नेकपा एमालेबाट जित्नेमा दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल हुन् । उनी ६३ वर्षका भए ।

रुकुम–पूर्वमा नेकपाका उम्मेदवार दाहाल १० हजार २४० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतम ३ हजार ४६२ मतसहित दोस्रो भए । दैलेख–२ मा एमालेका उम्मेदवार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाही ९ हजार ५५२ मतसहित दोस्रो भए ।

स्वतन्त्र उम्मेदवारबाट जित्नेमा म्याग्दीबाट उठेका महावीर पुन हुन् । उनी ७१ वर्षका भए ।
पुन २२ हजार ८५० मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार ७ हजार ९१९ मत ल्याएर दोस्रो भए । 

६० वर्षभन्दा बढीका उम्मेदवार सबैभन्दा धेरै मधेशमा 

निर्वाचन आयोगका अनुसार ६० वर्षभन्दा माथिका सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा १२६ जना छन् । मधेशमा १२६ जना उम्मेदवार ६० वर्षभन्दा माथिका रहेका छन् । दोस्रोमा बागमती प्रदेशमा ८९ जना छन् । तेस्रोमा लुम्बिनी प्रदेशमा ८८ जना छन् । त्यस्तै कोशी प्रदेशमा ६० वर्षभन्दा माथिका ८४, गण्डकी प्रदेशमा ४१ जना छन् । 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या २३/२३ जना रहेका छन् ।

Share News