रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम मंगलबार सवा ११ बजे सुरु हुने भएको छ । रास्वपाका नवनिर्वाचित सांसद प्रतिभा रावलका अनुसार नवनिर्वाचित सांसदहरू आउने क्रम जारी रहेको छ ।

१८२ सिटको आधारमा सरकार गठनको तयारीमा जुटेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितासम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रावलले बताइन् । 

ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने रावलले जानकारी दिइन् ।

रावलका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसँगै पार्टीले अघि सार्ने नीतिगत दिशाबारे विस्तृत प्रशिक्षण प्रदान गरिनेछ ।

अभिमुखीकरण कार्यक्रम आवासीय हुने रावलले जानकारी दिइन् । कार्यक्रममा मोवाइलसहित सञ्चारका साधनहरूलाई निषेध गरिएको छ ।

Share News