काठमाडौं । काठमाडौं महानगरपालिकाले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ ।
महिलाहरूमा सबैभन्दा जोखिम र डरलाग्दो रुपमा स्तन र पाठेघरको मुखको क्यान्सर फैलिन थालेपछि यसबाट जोगिन सहज होस् भन्ने उद्देश्यले वीर अस्पतालसँग निःशुल्क परीक्षण गर्नेबारे सम्झौता भएको महानगरले जनाएको छ ।
सोमबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माबीच निःशुल्क सेवा सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार वीर अस्पतालले चैत १६ गतेदेखि परीक्षण कार्य थाल्ने छ । हरेक दिन १ सय जनादेखि १ सय २० जनासम्मको परीक्षण गर्ने गरी योजना बनाइएको छ ।
परिक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिनेछ । सुरुवाती समयमै पत्ता लागेमा अल्ट्रासाउण्ड गरिनेछ भने त्यसपछि मेमोग्राफीका लागि गरिने छ भने पाठेघरको मुखको क्यान्स परीक्षणमा एचपीभी डीएनए पिसिआर परीक्षण गरिने छ । यसमा पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिने छ ।
सम्झातौको क्रममा कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरूलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न अस्पताललाई आग्रह गरेकी छिन् ।