काठमाडौं । मोरङको मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । छिमेकी मुलुक चीनको कूटनीतिलाई ध्यान नदिएको भन्दै विरोध र आलोचनासमेत हुन थालेको छ ।
सामाजिक सञ्जाल एक्समा अनिल गिरीले लेखेका छन्, ‘मोरङको मनमोहन प्राविधिक कलेजले यसरी बन्डलका बन्डल सी जिङपिङद्वारा लिखित पुस्तक जलाएको थियो । शनिबार राति । तर किन ?’
‘प्राविधिक विषय पढाउने कलेजमा चिनियाँ राष्ट्रपतिको पुस्तक त्यति ठुलो संख्यामा किन पुग्यो र किन जलाइयो ? दुई देशका बीचमा सम्बन्धमा दरार ल्याउने काम कसले किन गर्यो ?,’ उनले जिज्ञासा राखेका छन् ।
पत्रकार जीवराम भण्डारीले पनि सी जिनपिङको किताब जलेको फोटो सेयर गर्दै वास्तवमा भएको के हो ? भनेर प्रश्न गरेका छन् ।
सर्वत्र चिनियाँ राष्ट्रपतिको पुस्तकलाई जलाइएको विषयलाई लिएर चासो बढ्न थालेपछि हामीले मोरङ जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क ग¥यौं । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार मनमोहन प्राविधिक कलेजले शनिबार किताब जलाएको पुष्टि गरेको छ ।
‘चिनियाँ राष्ट्रपतिको सँगै अन्य पुस्तकसमेत जलाइएको थियो,’ मोरङ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले विकासन्युजसँग भने, ‘शनिबार दिउँसो १२ बजे ती पुस्तकहरू जलाइएको थियो । प्रहरीलाई साँझ ४/५ बजे मात्र खबर आयो ।’
पुस्तक राखेको कोठा खाली गर्नुपर्ने भएकाले कोठामा राखिएको पुस्तक जलाउनुपर्ने बाध्यता आएको कलेज प्रशासनले जानकारी दिएको ती प्रहरी अधिकारीले बताए ।
पुस्तक जलाएको विषय कुनै पनि राजनीतिक मुद्दा नभएको मोरङ प्रहरीले उल्लेख गरेको छ । ‘पुस्तक जलाएको विषयमा चिनियाँ दूतावासबाट समेत फोन आएको छ,’ ती प्रहरीले विकासन्युजसँग भने ।
कलेजका सूचना अधिकारी सुजन भुर्तेलले कवाडी, धमिरा र मक्किएका पुस्तक जलाएको जानकारी दिए । कलेजको ल्याबमा चिनियाँ राष्ट्रपतिको पुस्तकमा धमिरा लागेकाले सफा गर्न जलाइएको जानकारी दिए ।
‘ल्याबको कोठालाई विद्यार्थीहरूको लागि वर्क सप गर्न कोठा खाली गर्न किताबहरू हटाइएको हो,’ उनले भने ।
उनका अनुसार एमालेका नेताहरूले उक्त किताब त्यहाँ लगेर राखेका हुन् । कलेजमा अझै १० देखि १२ हजार किताब सुरक्षितसाथ राखिएको भुर्तेलले जानकारी दिए ।
मनमोहन प्राविधिक कलेजको प्रशासनमा कार्यरत विकास राईले कलेजले प्रशासन कार्यालयको रोहबरमा पुस्तक जलाइएको जानकारी दिए ।
‘पुस्तक जलाएको विषयमा मलाई प्रहरी कार्यालय र मन्त्रालयबाट समेत फोन आयो,’ उनले भने ।
एक जना पत्रकार र युट्युबरबाट उक्त भिडियो सार्वजनिक भएपछि आफूले थाहा पाएको राईले जानकारी दिए ।
अहिले यो विषयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।