नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं । नेपाल बैंकले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न सकिने आकर्षक सहुलियत योजना सार्वजनिक गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार विसं २०७९ साल चैत्र मसान्त अगावै खराब वर्गमा वर्गीकरण भएका १ करोड रुपैयाँसम्मको सावाँ बक्यौता रहेका ग्राहकहरूले यो योजनाको लाभ लिन सक्नेछन् । 

यस्ता ऋणीहरूले विसं २०८३ आषाढ मसान्तभित्र तोकिएका शर्तहरू पालना गरी कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्राप्त गर्ने सुवर्ण अवसर प्रदान गरेको बैंकले जनाएको छ । 

बैंकले आफ्ना सम्बन्धित ग्राहकहरूलाई यस सहुलियतको उपयोग गरी वित्तीय भार कम गर्न र कर्जा राफसाफ गर्न अनुरोधसमेत गरेको छ ।

यसैगरी, बैंकले २०८० वैशाख १ गते पश्चात निष्कृय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूको हकमा पनि राहतको व्यवस्था गरेको छ । यस्ता ग्राहकहरूले विसं २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता सावाँ तथा ब्याज बुझाएर कर्जा चुक्ता गरेमा वा खाता नियमित गराएमा आकर्षक ब्याज छुट दिइने बैंकले जनाएको छ ।

इच्छुक ग्राहकहरूलाई थप जानकारी र सुविधाको लाभ लिनका लागि आ-आफ्नो सम्बन्धित शाखा कार्यालयमा यथाशीघ्र सम्पर्क राख्न बैंकले आग्रहसमेत गरेको छ ।

Share News