‘ग्लोबल मनी विक’ अन्तर्गत सम्पदा लघुवित्तको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपरासी । विश्वव्यापी रूपमा मार्च १६ देखि २४ सम्म सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । 

संस्थाको शाखा कार्यालय अमरापुरी, नवलपरासीद्वारा गैंडाकोट–१५ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत ५० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागितामा वित्तीय सचेतना र्र्याली तथा साक्षरता तालिम आयोजना गरिएको हो । 

लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक भट्टराईले वर्तमान अवस्थामा वित्तीय साक्षरताको महत्त्वमाथि प्रकाश पार्दै सिकेका कुरालाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई आग्रह गरे । 

सोही अवसरमा माध्यमिक शिक्षक टिकाराम सुवेदीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए भने स्थानीय प्रहरी चौकीका प्रमुख सानुकाजी विष्टको टोलीले कार्यक्रमको सुरक्षा व्यवस्था मिलाउन सहयोग गरेको थियो।

यसैगरी, संस्थाको शाखा कार्यालय बेलौरीले पनि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं। १० मा संस्थाका सदस्य, अभिभावक र वडा प्रतिनिधिहरू गरी करिब ४० जनाको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

null

कार्यक्रमको उद्देश्य र महत्त्वबारे संस्थाका नायव महाप्रबन्धक  सीताराम पन्डितले स्पष्ट पारेका थिए । तालिमका क्रममा नायव महाप्रबन्धक पन्डित र असुली तथा अनुगमन अधिकृत कृष्ण रावलले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ बचत, कर्जा कारोबार, विप्रेषण, बीमा र सेयर सम्बन्धी जानकारी प्रदान गरेका थिए। 

सेसनमा सहभागीहरूलाई पारिवारिक बजेट निर्माण गर्ने तरिका र सम्भावित वित्तीय ठगीबाट बच्ने उपायहरूका बारेमा समेत सचेत गराइएको थियो ।

कार्यक्रमको अन्त्यमा लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी र संस्थाका कर्मचारीहरूको सहभागितामा वित्तीय सचेतना जगाउने उद्देश्यले र्याली समेत निकालिएको थियो । 

सम्पदा लघुवित्तले यस साताभरि अर्थात् चैत २ देखि चैत ८ गतेसम्म देशका सातै प्रदेशमा युवा तथा विद्यार्थीहरूलाई लक्षित गरी ग्लोबल मनी विक र वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।

Share News