काठमाडौं । मोरङको मनमोहन प्राविधिक कलेजमा २० पोका पुस्तक जलाइएको खुलेको छ । धमिराले नखाओस् भनेर र कलेजको कोठा सफाइ गर्न भनी २० पोका किताब जलाइएको कलेजका प्रवक्ता सरोज भुर्तेलले जानकारी दिए ।
पूर्ण रूपमा क्षति भएका र अरू पुस्तकलाई क्षति नहोस् भनेर चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाइएको उनले बताए ।
कलेजमा विद्यार्थीका लागि ल्याब बनाउनु पर्ने र वर्कसप बनाउन कोठा खाली गर्दा किताबहरू जलाउनु परेको भुर्तेलको भनाइ छ ।
‘सरसफाइ गर्दा पतिङ्गरसहित किताब पनि जलाउन पुगियो,’ उनले भने, ‘कलेजले कुनै नियतवश जलाउन पुगेको होइन । कलेजमा कोठा अभाव भएकाले सफा गर्दा उक्त किताब जलाउनु परेको हो ।’
राष्ट्रपतिको बाँकी १२ हजार किताब सुरक्षित राखिएको भुर्तेलले बताए । मनमोहन प्रतिष्ठानमा ८(१० वर्ष अगाडि चिनियाँ राष्ट्रपतिको किताब पुगेका थिए ।
किताब जलाएको विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङले कलेजलाई सोधपुछसमेत गरेको थियो । कलेजले प्रशासनलाई ५-६ पानासहितको प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा विद्यार्थी प्रयोजनका लागि कोठा खाली गर्दा पुस्तकहरू जलाउन परेको उल्लेख गरिएको छ । कुनै नियतवश पुस्तक नजलाइएको समेत प्रतिवेदनमा बताइएको छ ।
प्रतिवेदन प्राप्त गरिसकेपछि आवश्यक अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाइने मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ ।
मोरङको मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।
गत शनिबार अपरान्ह मनमोहन कलेजमा राष्ट्रपति जिनपिङको पुस्तक जलाइएको हो । खाली गरेर राष्ट्रपतिको किताब जलाइएको थियो । प्रहरीले भने साँझ ५ बजेतिर खबर पाएको थियो ।
सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?