हावाहुरीले ३ करोड बढीको केरा खेतीमा क्षति, बीमा गर्न मान्दैनन् बीमा कम्पनी

काठमाडौं । केरा खेतीको बीमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बीमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् ।

सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर-३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।

चन्द्रपुर-१ को पौराई, चन्द्रपुर-२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहापुरलगायत गाउँमा हावाहुरीले केरा खेतीमा पूर्ण रुपमा क्षति पुर्याएको छ । चन्द्रपुर-३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । 

सोमबार आएको हावाहुरीले हजारौं बोट केरा ढल्दा वर्षभरिको मेहनत एकछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन् ।

केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बीमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन् । यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बीमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनुवाइ नभएको उहाँले बताए । 

बीमाका लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बीमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् ।

रौतहटमा करिब ४ सय बिघाभन्दा बढी जमिनमा केरा खेती भएको र हावाहुरीबाट ३ करोडभन्दा बढीको क्षति पुगेको छ ।

यस्तै चन्द्रपुर-३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बीमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बीमा नहुँदा किसान मारमा परेको उनको भनाइ छ । अहिलेको समयमा हरेक बालीको बीमा अपरिहार्य भएको घिमिरेले बताए । बीमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बीमा गर्न आनाकानी गर्दै आएको उहाँको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बीमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । बालीका लागी बीमा अति आवश्यक भएकाले बीमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

Share News