काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र उठाइएका असहमति र सुधारका प्रस्तावहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै पार्टी सीमित व्यक्तिको निर्णय र क्याल्कुलेसनबाट चलिरहेको टिप्पणी गरेका छन् ।
पाण्डेले ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?’ भन्ने प्रश्न उठाउँदै आफूहरूले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्दा पनि त्यसलाई वेवास्ता गरिएको गुनासो गरेका हुन् ।
उनले ती सुझाव र असहमतिका आवाजलाई गम्भीर रूपमा लिनुको सट्टा ‘नोट अफ डिसेन्ट’ को कुनामा सीमित गरिएको उनको धारणा छ ।
उनका अनुसार बैठकहरू सुधार र बहसको थलो बन्नुपर्नेमा केवल औपचारिकता पूरा गर्ने र निर्देशन दिने माध्यममा सीमित हुँदा पार्टीभित्र विवेकभन्दा अहङ्कार हावी हुने अवस्था सिर्जना भएको छ ।
पाण्डेले अब एमाले बन्द कोठामा हुने षड्यन्त्र वा सीमित व्यक्तिको निर्णयबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय एमालेका शीर्ष नेताहरुले सामाजिक सञ्जालमा एकअर्काबीच टिप्पणी तथा अलोचना गरिरहेका छन् । पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, नेता गोकुल बास्कोटा र शेरबहादुर तामाङले लेखेका/बोलको स्टाटस तथा भिडियोहरू केही दिनअघिदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।