३ अर्बसम्म कारोबार गर्ने नेपालका ८ ठूला औषधी उद्योग, यी हुन् मालिक

काठमाडौं । कुनै समय नेपालमा बिरामी पर्दा उपचारका लागि या त जडिबुटीमा भर पर्नुपथ्र्यो या विदेशबाट आयातित औषधीको प्रतीक्षा गर्नुपर्थ्यो । तर समयसँगै परिस्थिति बदलिएको छ । नेपाली उद्योगी–व्यवसायीहरूले देशमै औषधी उत्पादन सुरु गरेपछि यस्तो बाध्यता धेरै हदसम्म हटेको छ । 

स्वदेशी औषधी उद्योगले नेपाली बजारमा मजबुत उपस्थिति बनाइसकेको छ । अहिले नेपाली औषधीले बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ भने क्यान्सरबाहेकका अधिकांश औषधी नेपालमै उत्पादन भइरहेका छन्।

यद्यपि नेपालमै उत्पादन भइरहेका औषधीहरू अझै पनि भारतलगायत विभिन्न देशबाट आयात भइरहेको छ ।

कतिपय औषधी उद्योगहरूले नेपाली बजारमा मात्र नभई विश्वका बजारमा आफ्नो औषधी निर्यात गरिरहेका छन् । यस्ता उद्योगहरूले वार्षिक दुईदेखि तीन अर्ब रुपैयाँको कारोबार गर्दै देशको स्वास्थ्य सेवा मात्र होइन, अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

नेपालमा औषधी उद्योग दर्ता हुनेक्रम बढ्दो छ । अहिले करिब ८० वटा औषधी उद्योग सञ्चालनमा छन् । ती उद्योगमा प्रत्यक्षतर्फ कम्तीमा २५ हजार नागरिकले रोजगारी पाएका छन् भने स्टक, फार्मेसी, अस्पताल गरी सबै ठाउँमा दुई लाखभन्दा धेरैले रोजगारी पाएका छन् । यी औषधि उद्योगले नेपाली बजारमै विदेशी करिब चार सय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

कोभिड पछाडि केही उद्योग अप्ठ्यारो अवस्थामा रहेका छन् । कोभिडमा औषधी उद्योगले ठूलै घाटा बेहोर्नुपर्दा अहिलेसम्म माथि आउन सक्ने अवस्था नरहेको नेपाल औषधी उत्पादन संघका अध्यक्ष विप्लव अधिकारी बताउँछन् ।

‘कोभिडपश्चात केही स्वदेशी औषधी उद्योग अझै पनि माथि उठ्न सकेका छैनन्, ’ उनले भने । 

अहिले पनि झण्डै ३० प्रतिशत औषधी उद्योगसंकटमै चलिरहेको उनको भनाइ छ । हामीले यहाँ नेपालको औषधी क्षेत्रमा राम्रो गरिरहेका र आर्थिक हिसाबले सक्षम उद्योगको बारेमा संक्षिप्त रूपमा चर्चा गरेका छौं । 

लोमस फर्मास्युटिकल्स

चार दशकको यात्रा पार गर्दै पाँच दशकको यात्रामा लागेको लोमस फर्मास्युटिकल्स नेपाली औषधी उद्योग क्षेत्रमा राम्रो पफर्मेनस गर्ने उद्योगमध्येमा पर्छ । लोमसले एन्टिबायोटिक, पेनकिलर, भिटामिन, सिरीप, ट्याब्लेट र इन्जेक्सन जस्ता औषधी उत्पादन गर्दै आएको छ । 

अहिले बजारमा तीन सय बढी प्रकारका औषधी उत्पादन गर्दै आएको यस कम्पनीको उद्देश्य गुणस्तरीय, भरपर्दो र सुलभ औषधी नेपाली बजारमा उपलब्ध गराउनु हो । लोमस फर्मास्युटिकल्सले स्वास्थ्य सेवा क्षेत्रमा योगदान पुर्याउने मात्र नभई कर्मचारी विकास, सामाजिक कार्यक्रम र स्वास्थ्य सचेतना अभियानहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेका अनुसार गुणस्तरीय औषधी उत्पादन गर्दै आएको कम्पनीले भर्खरै नेपालको नम्बर वान कम्पनीको सर्टिफिकेट प्राप्त गरेको छ । यो कम्पनीले सयौं व्यक्तिलाई रोजगार दिएर पाँच महिनाको बोनससमेत कर्मचारीलाई दिँदै आएको अध्यक्ष पाण्डेको दाबी छ । 

null

प्रदीपजंग पाण्डे ।

उनी भन्छन्, ‘मैले मेरो संघर्ष र मेरो टिमको मिहिनेतले यो कम्पनीलाई यहाँसम्म पुर्याएका हौं । यो उद्योगले वार्षिक २ अर्ब बढीको कारोबार गर्दै आएको छ ।

क्वेस्ट फर्मास्युटिकल्स

नेपाली औषधी उद्योगमा गुणस्तरीय सेवा दिँदै आएको औषधी उद्योग हो क्वेस्ट फर्मास्युटिकल्स । करिब २६ वर्षदेखि औषधी उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले अहिले नेपालमा करिब दुई सय प्रकारका औषधी उत्पादन गरिरहेको छ । 

उमेशलाल श्रेष्ठले स्थापना गरेको क्वेस्टले ७ सय जनालाई रोजगारी दिएको छ । उनीसँग औषधी क्षेत्रमा मेडिकल रेप्रिजेन्टेटिभको रूपमा करिब पाँच दशक काम गरेको अनुभव छ ।

null

उमेशलाल श्रेष्ठ ।

श्रेष्ठका अनुसार यो उद्योगले उत्पादन गरिरहेका औषधीमध्ये २५ प्रकारका औषधी मधुमेह र मुटुसम्बन्धी रोगका रहेका छन् । स्वदेशमा औषधीको क्षेत्रमा राम्रो काम गरे पनि सरकारले नै आफूहरूलाई सहयोग नगरेको श्रेष्ठ बताउँछन् । नेपाली बजारमा विदेशी औषधीलाई खुला छोडेर नेपाली औषधीलाई बाँध्ने प्रयास सरकारीस्तरबाटै रहेको उनको भनाइ छ ।  यो कम्पनीले वार्षिक २ अर्ब बढीको कारोबार गर्दै आइरहेको छ । 

देउराली जनता फर्मास्युटिकल्स

नेपाली बजारमा गुणस्तरीय औषधी उत्पादन गर्दै आइरहेको अर्को औषधी उद्योग हो देउराली जनता फर्मास्युटिकल्स । देउराली जनताले हाल २ सय ८० प्रकारका औषधी उत्पादन गर्दै आएको छ । २०४७ सालदेखि निरन्तर औषधी उत्पादन गर्दै आएको फर्मास्युटिकल्सले २०७२ साल मंसिरमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरेर काम सुरु गरेको थियो । विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधीहरू स्वदेशमै उत्पादन गर्दै आएको छ ।

देउराली जनताका निर्देशक सुरजभक्त शर्मा पौडेल यो उद्योगले देशमा औषधी आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधी उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि काम गरिरहेको बताउँछन् । 

उनका अनुसार उद्योगले जीवनरक्षक औषधीहरू र विभिन्न दीर्घरोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्वाबलेट, लिक्विड लगायतका जीवनरक्षक औषधीहरू अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने काम गरिरहेको छ । 

null

अध्यक्ष हरिभक्त शर्मा ।

आफ्नो नयाँ शाखा भरतपुरमा सञ्चालन गर्न लागेको यो कम्पनीमा सबै तहमा करिब ६ सय ७५ जना नागरिकले रोजगारी पाएका छन् । यो कम्पनीले वार्षिक दुई अर्ब बढीको कारोबार गर्दै आएको छ । यो उद्योगको अध्यक्ष हरिभक्त शर्मा हुन् । 

एशियन फर्मास्युटिकल्स

सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । 

कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधी (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ ।

एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधीसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । 

कम्पनीले ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ ।

null

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशक शंकर घिमिरे हुन् । एसियनले पाँच सय जनालाई प्रत्यक्ष रोजगार दिइरहेको । त्यसैगरी, कम्पनीको कारोबार चार अर्ब रहेको छ ।

नेपाल फर्मास्युटिकल्स

नेपालका प्रमुख औषधी उत्पादक कम्पनीहरूमध्ये नेपाल फर्मास्युटिकल्स लेबोरेटरी पनि एक हो ।  यो कम्पनीले मुटुरोग, मधुमेह, स्नायु तथा मानसिक रोग, छालारोग लगायत हाल २ सय ७० प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । 

यो उद्योग स्थापना हुनुभन्दा केही दशकअघि नेपालका औषधी उद्योग अहिलेको जस्तो अवस्थामा थिएनन् । त्यतिबेला चिकित्सक र उपभोक्ताले स्वदेशी औषधी कम्पनीहरूले उत्पादन गरेका औषधीहरूको गुणस्तर र प्रभावकारितामा विश्वास गर्थे । त्यो बेला नेपालको औषधी बजार मुख्यतः भारतीय तथा बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनले नै नियन्त्रण गरेको अवस्था थियो । 

त्यो बेला यो कम्पनीले समग्र नेपाली औषधी उद्योगको वास्तविक आधार निर्माण गर्न धेरै वर्षको संघर्षपूर्ण यात्रा पार गर्नुपरेको थियो । यस यात्राको नेतृत्व डोलेन्द्र अमात्यले गरेका थिए । जसले नेपाली औषधी उद्योगको विकासमा एक प्रकारको क्रान्ति ल्यायो । औषधी क्षेत्रमा ज्ञान भएका महेन्द्रले आफ्ना दाई शैलेन्द्र अमात्य र भिनाजु महेशकुमार गोर्खालीसँग मिलेर कम्पनी विस्तार गरेका थिए । अहिले यस उद्योगको अध्यक्षका रूपमा मिनु अमात्यले गरिरहेकी छन् । 

null

महेशकुमार गोर्खाली 

यो कम्पनीले सन् १९८७ जनवरी १२ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो । हाल चार सय बढी औषधी उत्पादन गर्दै आएको कम्पनीले प्रत्यक्षतर्फ ७ सय बढीलाई रोजगारी दिइरहेको छ । कम्पनीले वार्षिक तीन अर्बको कारोबार गरिरहेको छ ।

नेशनल हेल्थ केयर

नेशनल हेल्थ केयर प्रालि नेपालका प्रमुख घरेलु औषधी उत्पादक कम्पनीमध्ये एक हो । यसले बारा जिल्लास्थित उत्पादन केन्द्रबाट विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ देशभर १० भन्दा बढी मार्केटिङ डिभिजनमार्फत औषधी वितरण गर्दै आएको यो कम्पनी सन् १९९६ मा स्थापना भएको हो । 

यो उद्योगले एन्टिमाइक्रोबायल, कार्डियोभास्कुलर, ग्यास्ट्रोइन्टेस्टिनल र नर्भस सिस्टमको औषधि कम्पनीले उत्पादन गर्छ भने मुटु, नसा र ग्याष्ट्रिकका औषधी पनि उत्पादन गरिरहेको छ । 

नेशनल हेल्थ केयरका मार्केटिङ तथा उपाध्यक्ष अजय पाण्डेका अनुसार नेशनल हेल्थ केयरले हाल बजारमा इन्जेक्सनबाहेक ३ सय २५ प्रकारका औषधीहरू उत्पादन गर्दै आइरहेको छ । कम्पनीले विभिन्न चार देशमा औषधी निर्यात गरिरहेको छ ।  

null

अजय पाण्डे ।

नेशनल हेल्थ केयरले एक हजार जनालाई फ्याक्ट्रीमा रोजगार दिएको छ भने करिब चार सय जना मार्केट र सेल्समा काम  गरिरहेका छन् । अप्रत्यक्ष रूपमा अझ बढीले काम पाएको पाण्डे दावी गर्छन् । यो कम्पनीले वार्षिक साढे ३ अर्ब बढीको कारोबार गर्दै आइरहेको छ । यो उद्योगको नेतृत्व राधेश्याम प्रसाद थारुले गर्दै आएका छन् । 

म्याग्नस फर्मा

म्याग्नस फर्माले दुई सय बढी प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । यसले उत्पादन गरेको औषधी नेपाली बजारमा मात्र नभइ भेनेजुयला, एक दुई अफ्रिकी देशमा निर्यात सुरु गरेको र यसका लागि आवश्यक पूर्वाधार पनि तयार गरिरहेको छ । 

उद्योगले हाल प्रत्यक्ष रूपमा चार सय जनालाई रोजगार दिइरहेको छ भने अप्रत्यक्ष रुपमा दुई सय बढीलाई रोजगारी दिएको छ । म्याग्नस फर्माले सवा १ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

म्याग्नस फर्माले आफूले उत्पादन गरेका औषधी नेपाल फर्मा एक्स्पो २०२६ मा प्रदर्शनसमेत गरेको थियो । म्याग्नसका प्रवन्ध निर्देशक सुधीर प्रकाश मास्के नेपालका औषधि उद्योगहरूले नेपालको औषधि क्षेत्रलाई प्रयोग गरेर धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई पनि टेवा गर्न सक्नुपर्ने बताउँछन् । 

null

सुधीर प्रकाश मास्के ।

नेपालमा औषधी उद्योगले प्रविधि र औषधीका क्षेत्रमा दक्ष व्यक्तिलाई रोजगारी दिइरहेको दाबी गर्दै दक्ष जनशक्तिलाई नेपालमै रोक्न सफल भएको बताए । उनी यसका लागि बजारलाई बिस्तार गर्ने नीति भए अझै काम गर्न सहज हुने बताउँछन् । ‘व्यवसायीको लागि मात्र होइन, देशको अर्थतन्त्र माथि उठाउनेगरी हामीले काम गर्नुपर्छ, ’ उनले भने । 

टाइम फर्मास्युटिकल्स

टाइम फर्मास्युटिकल्सले नेपालमा आवश्यक पर्ने भ्याक्सिनबाहेक करिब तीन सय प्रकारका औषधी उत्पादन गर्दै आएको छ । टाइमले ३ सय ५० बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा त्योभन्दा धेरैलाई दिएको कार्यकारी अध्यक्ष डा. नारायण बहादुर क्षेत्रीले जानकारी दिए ।

null

डा. नारायण बहादुर क्षेत्री ।

यो कम्पनीले वार्षिक कारोबार एक अर्ब १० करोडदेखि एक अर्ब २० करोडसम्म गरिरहेका छ । कम्पनीले दुई देशमा औषधी निर्यात गरिरहेको अध्यक्ष क्षेत्रीले बताए । 

उनी स्थानीय उद्योगलाई संरक्षण नहुँदा काम गर्न समस्या भएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हामीले उत्पादन गरिरहेका औषधीको आयातमा मात्र प्रतिबन्ध गरिदिएको भए धेरै राहत हुन्थ्यो ।’ उनले अब नयाँ बन्ने सरकारले यस्ता विषयमा काम गर्ने आशा व्यक्तसमेत गरेका छन् ।

Share News