मिडिया ट्रायल नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्न मिडिया ट्रायल नगर्न सुझाव दिएका छन् । 

पछिल्लो समय केही सांसदहरूले आफूलाई मन्त्री बनाउन दवाव दिनेगरी सञ्चारमाध्यममा बोलेकोमा लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले अहिलेसम्म मन्त्रीहरूका बारेमा छलफल नगरेको बताएका छन् । 

छलफल नै नभएको विषयमा बाहिर बोल्नु पार्टी र मत दिने जनताको आशा विपरीत भएको लामिछानेले बताए ।

त्यसैगरी, उनले आफ्नो दलका सांसदहरूले सरकारी अस्पतालमा उपचार गर्नुपर्ने बताएका छन् । 

सरकारको डेलिभरीलाई चुस्तदुरुस्त बनाउन हामीले यो अभियान चलाउनु आवश्यक रहेको लामिछानेले जोड दिए ।

त्यस्तै, उनले पुराना नेताहरूले इतिहास लेखेको र आफ्नो दलले भविष्य लेख्ने दावीसमेत गरे ।। रास्वपा संविधान र इतिहासप्रति प्रतिबद्ध रहेको समेत उनको दावी छ ।

‘यो जित रास्वपाको मात्रै होइन, यो जित त देशको जित हो ।  हामी पाँच वर्ष अत्यन्तै लगावका साथ काम गर्न तयार भएर आएका हौं,’ लामिछानेले भने ।

लामिछानेले राई, लिम्बुहरूको प्रतिनिधित्व गराउन नसकेकोमा माफीसमेत गरे । 

Share News