काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरुलाई मन्त्री बन्नका लागि मिडिया ट्रायल र बिचौलियाकहाँ नधाउन आग्रह गरेका छन् । निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका हुन् ।
‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ, कसैले पनि मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्दा हुन्छ, बिचौलियाकहाँ नधाउँदा हुन्छ,’ उनले भने, ‘हामीलाई सबै साथीहरूको योग्यता र क्षमता राम्रोसँग थाहा छ ।’
उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन पनि आग्रह गरे ।
उनले भने, ‘पार्टी जन्मेदेखि यसमा प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो । पार्टीको चुनाव चिन्हमा मुद्दा भयो । विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर ल्यायौं । देशका सबै शक्ति एकै ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं ।’
लामिछानेले पार्टीका सबैलाई अनुशासनमा राख्नु पार्टीको काम भएको र यसमा कडाइ र कारबाही गरिने, साथै ‘राइट टु रि कल’को व्यवस्था समेत लागू गरिने बताए ।