कृपया स्वकीय सचिवलाई गाली नगरौं

कृपया स्वकीय सचिव आदर्श श्रेष्ठलाई गाली नगरौं,
उनको केही गल्ती छैन ।
हो, उनी पहिल्यैदेखि नै विवादित प्राणी हुन्,
कालो नियत र अवसरवादीका खानी हुन्,
प्रमको स्वकीय सचिव भएसँगै श्रीमती, साली र आफन्तलाई 
सचिवालयमा नियुक्त पनि गरेकै हुन्,
हो, उनी प्रधानन्यायाधीश कार्कीको सचिवालयमा करारका नासु थिए,
पेशी मिलाउने, मुद्दा दायाँबायँमा उनी नै जगन्नाथ थिए,
हो, समाज कल्याण परिषदमा विवादित मनोज भट्टलाई पुन:नियुक्ति दिलाउने,
त्यति मात्र होइन, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगमलगायत
विभिन्न महत्त्वपूर्ण निकायमा नियुक्त गराई विवाद चुलाउने,
सुशासनको अनादर गर्ने आदर्श उनी नै हुन्,
तर,
कृपया पूर्वस्वकीय सचिव आदर्शलाई गाली नगरौं,
उनको केही दोष छैन ।

नेपालको पहिलो प्रधानमन्त्री, प्रधानन्यायाधीश भएर पनि
मलाई जिन्दगीमा के पो चाहिएको छ र  भन्दै 
आदर्शवादी गफ गर्दै

नातावाद, कृपावाद, फाइदावादमा नियतवश पस्ने,
एउटा बिचौलिया करार नासुलाई सर्वेसर्वा ठान्ने,
स्वकीयको विरोध गर्दा उल्टै सचिवलायबाट हटाउने,
उहीलाई नै संरक्षण कोषको ५ वर्षे अध्यक्ष बनाउने,
सबै मन्त्रीलाई सांसद बनाउने, छुटेकालाई राष्ट्रियसभा पठाउने,
प्रश्न उठाए आदर्शको बचाव गरिरहने,
जेनजीले विरोध गर्दा पनि
आफ्नो चट्टानरुपी निर्णयबाट पछि नहट्ने,
जेनजीकै प्रधानमन्त्री भएर जेनजीकै कुरा काट्ने ?
हो रहेछ,

सुमना श्रेष्ठले भने झैं,
अरूले गर्दा नातावाद, कृपावाद, नेपोबेबी, भागबन्डा
आमा हजुरले गर्दा चाहिँ योगदानको कदर, जिम्मेवारी बाँडफाँड,
जेनजी छोराछोरीको रगतले रङ्गिएको त्यो कुर्सी समाई, 
अबोध सपनाहरू कुल्चिँदै उल्टै बाटो समाई,
जेन्जी मनले मागेका उज्याला सबै अँध्यारोमा बदली,
उदारो राष्ट्रपतिको लोभमा, 
तिमीले आमा शब्दकै गर्यौ गहिरो अपमान, निर्दयी।

भैगो,
हाम्री सुशीला आमालाई पनि केही नभनौं,
तर एउटा बिन्ती छ हजुर, 
कृपया पूर्वस्वकीय आदर्शलाई गाली नगरौं,
उनको केही गल्ती छैन,
उनको केही दोष छैन ।    

Share News