काठमाडौं । आम निर्वाचन अघिसम्म रवि लामिछानेको पहिचान तिखा अभिव्यक्ति र आक्रामक शैलीसँग जोडिएको थियो । उनका भाषणहरूमा पुराना राजनीतिक शक्तिमाथि कडा प्रहार, भावनात्मक आह्वान र प्रत्यक्ष भिडन्तको संकेत स्पष्ट देखिन्थ्यो । तर, निर्वाचनपछि परिस्थिति बदलिएको छ, उही नेता अहिले संयम, जिम्मेवार र संस्थागत भूमिकामा आफूलाई रूपान्तरण गर्दै गएको देखिन्छ ।
झण्डै दुईतिहाइ नजिकको जनसमर्थन पाएपछि लामिछानेले आफ्नो प्रस्तुति नै परिवर्तन गरेका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद अभिमुखीकरण कार्यक्रममा उनले आक्रोश होइन, अनुशासन र उत्तरदायित्वको भाषा बोले । समर्थक र कार्यकर्तालाई सामाजिक सञ्जालमा उत्तेजित नहुन र विपक्षीप्रति सम्मानजनक व्यवहार गर्न उनले स्पष्ट निर्देशन दिए ।
उनको सन्देश अब सत्ताको उपयोगभन्दा पनि विश्वासको संरक्षणतर्फ केन्द्रित देखिन्छ । सांसदहरूलाई शासक होइन, सेवक बन्न आग्रह गर्दै उनले जनतासँग नजिक रहनुपर्नेमा जोड दिएका छन् ।
निजी सुविधा र विशेषाधिकारभन्दा सार्वजनिक सेवाप्रति प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो ।
विगतका दलहरूको योगदानलाई स्वीकार्दै उनले प्रतिस्पर्धालाई द्वेषको रूपमा नभई निरन्तरताको रूपमा हेर्ने संकेत दिए । अब परिणाममार्फत जनताको विश्वास जित्नुपर्ने बताउँदै उनले आफ्ना सांसदहरूलाई हरेक कदममा सावधानी अपनाउन आग्रह गरेका छन् ।
लामिछानेको यो रूपान्तरण केबल शैलीगत परिवर्तन मात्र होइन, जिम्मेवारीको बोधसँग जोडिएको समेत देखिन्छ । सत्ता सम्हाल्ने अवस्थामा पुगेपछि आक्रामक भाषणभन्दा स्थिर, परिपक्व र समावेशी नेतृत्व आवश्यक पर्ने सन्देश उनले व्यवहारमै दिन खोजिरहेको उनको पछिल्लो अभिव्यक्तिमा देखिन्छ ।
आफ्ना सांसदहरूलाई सत्ताको मोहबाट टाढा रहन आग्रह गर्दै उनले मन्त्री बन्ने दौडमा नलाग्न सुझाव दिए । बाह्य दबाब र स्वार्थ समूहबाट प्रभावित हुन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले सत्ता यात्रालाई उत्सव होइन, जिम्मेवारीको रूपमा लिन आग्रह गरे ।
संसद केवल शक्ति प्रदर्शनको थलो होइन, बलिदानको सम्झना पनि हो भन्ने भावनात्मक सन्देशमार्फत उनले संवेदनशीलता कायम राख्न आग्रह गरे ।
सरकार गठनसँगै त्यसलाई अस्थिर बनाउने प्रयासहरू सुरु हुने अनुभव सुनाउँदै उनले पार्टीभित्र एकता र सजगता आवश्यक रहेको बताए । साथै, वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको स्पष्ट पार्दै कुनै आशंका नराख्न आग्रह गरे ।
पार्टीका वरिष्ठ नेता बालेन शाह भने उक्त कार्यक्रममा अनुपस्थित रहे । स्वास्थ्य कारण देखाइए पनि सामाजिक सञ्जालमा सक्रिय देखिएका कारण उनको अनुपस्थितिले केही जिज्ञासा जन्माएको छ । औपचारिक बैठकहरूमा उनको न्यून सहभागिताले पार्टीभित्रको भूमिकाबारे थप प्रश्न उठाइरहेको छ । यसरी, चुनावअघि आक्रामक रविका रूपमा चिनिएका नेता अहिले जिम्मेवार रवि बन्ने यात्रामा देखिन्छन् ।