काठमाडौं । उनको दैनिकी कार्यालय जाने आउनेमा बितिरहेको थियो । एक सहकारीमा क्यासियर काम गर्ने उनले आफूलाई बदलिरहेकी थिइन् । सोचेभन्दा फरक जीवनशैली थियो उनको अर्थात् उदयपुरकी सोबिता दाहालको ।
स्वावलम्बी बनेकी उनी आफ्नो मनमौजीले काठमाडौंमा बस्दै आएकी थिइन । उनी सहकारीमा क्यासियरको मात्र काम गर्दैन थिइन्, सहकारीमा आउने बचतकर्ता र ऋणीसँग पनि कुरा गर्थिन् उनी ।
सोबिताको सहकारीमा नियमित आइरहने बचतकर्तासँग एक दिन चिनजान हुन्छ । उनी जुम्लाका २२ वर्षीय दीपक बुढा (परिवर्तित नाम)सहकारीमा बचत गरेको पैसा लिन आउँथे । उनीहरुबीच कुराकानी मात्र हुन्न, एक आपसमा मोबाइल नम्बर पनि साटछन् । बिस्तारै उनीहरूंको कुराकानी सामाजिक सञ्जालमार्फत् पनि हुन थाल्यो ।
दीपक पसलमा काम गर्थे । काम गरेको पैसा सहकारीमा बचत गर्थे । उनीहरुको भेटघाट र कुराकानी बाक्लिदै गयो । दिपक र सोबिताबीचको कुराकानी प्रेममा बदल्यो । उनीहरू बिस्तारै दैनिक रुपमा भेटघाट गर्न थाले । बसुन्धारा बस्ने दिपकले पनि सोबिताको खोजी गर्न थाले । उनी भने कमल पोखरीमा काम गर्थिन् ।
उनीहरूको नियमित भेट गहिरो प्रेममा परिणत भयो । उनीहरू अब सँगै बस्ने निधो गर्छन् । सँगै पनि बस्छन् ।
तर, सामाजिक रुपमा उनीहरू दिदीभाई कोठामा भनेर बस्ने गरेका थिए । टोलमा वा वरपरको पसलमा भने दिदीभाइको सम्बन्ध परिचय बनेको थियो । बाहिर उनीहरूको परिचय भने प्रेमी–प्रेमिकाको सम्बन्ध थियो । सँगै बसे पनि उनीहरुको काम भने फरक– फरक ठाउँमा थियो ।
डेरामा सँगै बसे पनि काम गर्ने स्थान फरक थियो । सोबिता काम गर्ने सहकारीमा थरि–थरिका मानिसहरू आउँथे । सबैसँग उनी बोल्थिन् । दीपकजस्तै गरेर सहकारीमा आएका अन्य व्यक्तिसँग पनि उनको परिचय हुन्छ । उसैगरी उनीहरुको कुराकानी बढ्दै जान्छ ।
दीपकसँग सँगै बसे पनि उनले नयाँ युवकसँग बोल्न भने छोडिनन् । हेटौडाका २५ वर्षीय नारायण प्रसाद घिमिरे (परिवर्तित नाम) सँग पनि सोबिताको कुराकानी र भेटघाट बाक्लिँदै गयो । कार्यालयमा हुँदा उनले नारायणसँग फेसबुक र ह्वाटसएपमा कुरा गर्थिन् । कोठामा पुगेपछि भने उनीहरुको कुराकानी बन्द हुन्थ्यो । किनभने उनी कोठामा दिपकसँग बस्थिन् ।
सोबिता बिहान ९ बजे कोठाबाट निस्किन्थिन् । अफिसमा पुग्नसाथ उनको र नारायणको कुराकानी हुन सुरु हुन्थ्यो । नारायण र सोबिताको कुराकानीले बाक्लै रुप लिएपछि प्रेममा नै परिणत हुन्छ ।
उनले अफिस बिदा हुनेबित्तिकै नारायणलाई समय दिने गर्थिन् । हरेक दिन उनको भेटघाट नारायणसँग हुन थाल्यो । उनीहरूको प्रेम सम्बन्धबाट शारीरिक सम्बन्धसम्म पुग्छ ।
नारायणसँग सम्बन्ध बढेपछि सोबिताको दिपकसँग खटपट बढ्न थाल्छ । दिपक र सोबिताको दैनिक झगडा हुन थाल्छ । बिस्तारै सोबिता पनि दीपकसँग भन्दा नारायणसँग नजिक हुन्छिन् । नारायणले पनि सोबितालाई नजिक पारेपछि आफ्नो समस्या खुलेर बताउँन थाल्छन् ।
उनले आफ्नो भन्दा परिवारको समस्या बताउन थाल्छन् । सोबितालाई समस्या सुनाएर ऋणमा पैसा पनि माग्छन् । उनले पनि प्रेम गरेकीले पहिलो पटक पैसा माग्न साथ १० लाख रुपैयाँ दिन्छिन् ।
पैसाले उनीहरू बीचको निकटता झन कायम ग¥यो । यता नारायणसँग सम्बन्ध बढेपछि दीपकसँगको सम्बन्ध बिग्रदै गयो ।
नारायणले पनि पैसा पाइने लोभमा नाटकीय रुपमा झन गहिरो प्रेममा परेको आभास दिलाए । उनले सोबितासँग पुनः ५ लाख रुपैयाँ मागे तर उनले दिन सकिनन् ।
नारायणले पैसा मागेर हैरान बनाए । हैरान मात्र बनाएनन् । ब्ल्याकमेलिङसमेत गर्न थाले । ह्वाटसएप र फेसबुकमा अनैतिक सम्बन्धको फोटो सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थाले नारायणले ।
उनले सामाजिक सञ्जालमा पैसा नदिएपछि निरन्तर धम्क्याउन थालेपछि अन्त्तयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उनी पुग्छिन् । सोबिताले साइबर ब्यूरोमा उजुरी दिइन् ।
ब्यूरोका प्रहरी अनुसन्धान अधिकृतका अनुसार नारायले सोबितालाई फेसबुक म्यासेन्जरमा पोर्न फिल्मको फोटो पठाउँथे । अश्लील भिडियो/फोटोमा सोबिताको टाउको राखेर फोटो सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए ।
ब्यूरोमा उजुरी परेपछि नारायणलाई बोलाएर अनुसन्धान गरिएको ब्यूरोका एक प्रहरी अनुसन्धान अधिकृत बताउँछन् । सामाजिक सञ्जालबाट बढी यातना दिने गरेकाले नारायणको मोबाइल नियन्त्रणमा लिएर फर्म्याट गरि बुझाएको उनको भनाइ छ ।
ब्यूरोका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले केटालाई बोलाएर अबदेखि सामाजिक सञ्जालबाट धम्की नदिने र यातना नदिने बताएपछि सम्झाएर छाडिएको बताए । उनले करिब दश दिनअघि ब्यूरोमा उजुरी दिएकी ब्यूरोले जनाएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइवर अपराध अन्तर्गत पर्छन् । ऐनको दफा ४६ अनुसार कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पु¥याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ ।
ऐनको दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।