होटलमा पनि ग्यासको अभाव, विकल्पका रूपमा इन्डक्सन चुल्हो प्रयोग

काठमाडौं । मध्यपूर्वी देशहरूमा पछिल्लो समय विकसित तनावका कारण नेपालमा ग्यास अभाव देखिन थालेको छ । आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले उपभोक्तालाई आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको छ । ग्यास आपूर्ति घटेसँगै उच्च खपत हुने होटल क्षेत्रमा ग्यास अभाव हुन थालेको व्यवसायीहरूले बताएका छन् ।

होटल व्यवसायी सरोज आलेले एक सातादेखि ग्यास नै नपाएको गुनासो गरे । आले एकता होटेल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्षसमेत हुन् । उनका अनुसार ग्यास नपाउने समस्या आफ्नो मात्रै नभएर धेरै जना व्यवसायीहरूको हो । 

‘एक हप्ता भयो ग्यास अर्डर गरेको, तर पाउन सकेको छैन,’ आलेले भने, ‘मैले मात्रै होइन, धेरै जना व्यवसायीहरूले पनि ग्यास पाइरहनु भएको छैन ।’

आलेले काठमाडौं भित्रका २ हजार भन्दा बढी होटल व्यवसायहरू पीडित रहेको जानकारी दिए । त्यस्तै, एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघमा मात्रै आबद्ध ४०० भन्दा बढी व्यवसायीहरू ग्यासकोे अभावबाट पीडित छन् । 

ग्यास कम्पनीहरूसँग सिधा पहुँच भएकाहरूले केही सहज रूपमा पाए पनि अरूले ग्यास पाउनै नसकेको उनको गुनासो छ ।

काठमाडौं बसपार्कमा होटल सञ्चालन गर्दै आइरहेका व्यवसायी शंकर घिमिरेले पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो राखे । ‘अहिले त बाँकी भएको ग्यासले धानिरहेको छ, यो सकिए पछि पाउने हो कि होइन भन्ने थाहा छैन,’ घिमिरेले भने।  

साना होटल तथा रेष्टुरेन्ट, गेस्ट हाउसहरूमा मात्रै नभएर ठूला तारे होटलहरूमा समेत ग्यासको अभाव सुरु भएको छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरूमा ग्यासको अभाव देखिन सुरु भइसकेको बताए । होटलहरूमा ग्यासको खपत उच्च हुने भएकाले आपूर्तिमा समस्या हुँदा सञ्चालनमै असर परेको उनको भनाइ छ ।

अध्यक्ष शाहका अनुसार ग्यास आपूर्ति अनियमित हुँदा बजारमा त्रास सिर्जना भएको छ । ‘यदि सरकारले न्यूनतम आपूर्तिको स्पष्ट तालिका बनाइदिएमा व्यवसायीहरूमा आत्मविश्वास बढ्छ,’ शाहले भने । 

आपूर्ति तालिका नहुँदा सर्वसाधारण र व्यवसायी दुवैले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्ने तथा लुकाउने प्रवृत्ति बढेको उनको भनाइ छ ।

हानका महासचिव साजन शाक्यका अनुसार होटलहरू अहिले पुरानै मौज्दातमा रहेको ग्यासबाट सञ्चालन भइरहेका छन् । साथै ग्यासको आपूर्ति पनि केही मात्रामा आइरहेकाले अहिलेसम्म गम्भीर समस्या भने देखिएको छैन । 

शाक्यका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण पर्यटक आगमन घट्दा होटलहरूमा ग्यास खपत पनि तुलनात्मक रूपमा कम भएको छ । ग्यासको विकल्पका रूपमा केही व्यवसायीहरूले अहिले इन्डक्सन चुलो प्रयोग गर्न थालेका छन् ।

उपत्यका बाहिरका होटलहरूमा भने ग्यासको त्यति अभाव देखिएको छैन । चितवनमा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी दिनेशकुमार चुकेले काठमडाैंकाे जस्ताे अभाव नरहेकाे बताएका हुन् । चुके होटल व्यवसायी महासंघ नेपालका अध्यक्षसमेत हुन् ।

उनका अनुसार ग्यास डिलरहरूले अहिलेसम्म नियमित रूपमा आपूर्ति गरिरहेकाले खासै समस्या देखिएको छैन । त्यहाँका अन्य होटलहरूबाट पनि ग्यास अभावबारे कुनै गुनासो नआएको उनले बताए ।

विकल्पमा इन्डक्सन चुलो

ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि विकल्पमा सानादेखि तारे होटलहरूले अहिले विद्युतीय चुलो (इन्डक्सन चुलो) प्रयोग गरिरहेका छन् । ग्यासको विकल्पका रूपमा इन्डक्सन चुलो प्रयोग गर्न सकिने भए पनि त्यसमा पनि चुनौती रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालले हाल विद्युत् उत्पादन बढाएर निर्यातसमेत गरिरहेको अवस्थामा होटलहरू बिजुलीतर्फ जान इच्छुक छन् । तर, उच्च विद्युत् महसुल मुख्य बाधक बनेको हानका अध्यक्ष शाह बताउँछन् ।

सरकारले आव २०८२/८३ को बजेटमार्फत होटललाई उद्योगसरहको मान्यता दिएको छ । होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा पाउनुपर्ने भएपनि त्यो भने कार्यान्वयन हुन सकेको छैन । अहिले पनि होटलहरूले विद्युत प्रयोग गरेबापत व्यावसायिक दर बिजुली तिर्नुपरेको गुनासो होटल व्यवसायीहरूको छ । ‘यदि सस्तो दरमा बिजुली उपलब्ध गराइयो भने धेरैजसो ठूला होटल तुरुन्तै इन्डक्सनमा जान तयार छन्,’ शाहले भने ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै भ्याट र करमार्फत सरकारलाई उल्लेख्य योगदान दिँदै आएको छ । तर, बजेटमा उद्योगको मान्यता दिने घोषणा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवसायीहरू दुखित छन् ।

नयाँ सरकारले होटल व्यवसायीका समस्या बुझेर नीतिगत सुधार र सहजीकरण गरेमा पर्यटन तथा समग्र अर्थतन्त्रको विकासको गति दोब्बर बनाउन सकिने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन् ।

मध्यपूर्वी देशहरूमा द्वन्द्व चर्किँदै जाँदा नेपालमा इन्धन मात्र होइन, समग्र उपभोग्य वस्तुको मूल्यमा समेत वृद्धि देखिएको छ । पछिल्लो समायोजनअनुसार एलपीजी ग्यासको मूल्य एकैपटक २१६ रुपैयाँले बढेर प्रति सिलिन्डर २ हजार १२६ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, प्रतिलिटर १५४ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १६९ रुपैयाँ पुगेको छ भने १३९ रुपैयाँ रहेको डिजेलको मूल्य वृद्धि भई १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अझै अस्थिर रहेकाले आगामी दिनमा मूल्य थप बढ्ने सम्भावना रहेको देखिन्छ ।

Share News