काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व चयन प्रक्रिया अघि बढ्दै गर्दा पार्टीभित्र शक्ति सन्तुलन स्पष्ट हुँदै गएको छ । पछिल्लो आन्तरिक समीकरण अनुसार पार्टीका चौधौं महाधिवेशनका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले संसदीय दलमा बहुमत सुरक्षित गर्ने संकेत देखिएको छ ।
अझ रोचक पक्ष के छ भने देउवा समूहलाई अर्का नेता डा. शेखर कोइरालाको साथ समेत प्राप्त भएको छ । डा. कोइरालाको साथले देउवा पक्षको समीकरणलाई अझ मजबुत बनाएको नेता जितजँग बस्नेतको दाबी छ । यस अवस्थाले संसदीय दलको नेतामा देउवाले समर्थन गरेको उम्मेदवार निर्वाचित हुने सम्भावना उच्च बनेको देउवा निकट नेताहरू बताउँछन् ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका कुल ३८ सांसद रहेका छन्, तीमध्ये २१ जना सांसद देउवा–कोइराला पक्षमा उभिएको दाबी देउवा पक्षको छ । यसले संसदीय दलको नेतृत्व चयनमा यो समूह निर्णायक अवस्थामा पुगेको देखिन्छ । यता दोस्रो विधान महाधिवेशनवाट सस्थापनपक्षको नेतृत्व गरिरहेका सभापति गगनकुमार थापाको समूहमा भने १६ जना सांसद खुलेको र अरू पनि खुल्दै जाने थापा पक्षीय एक नेताले जानकारी दिए ।
देउवा–कोइराला समीकरण कसरी बलियो बन्यो ?
कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटगत राजनीति यसपटक पनि संसदीय दलको चुनावमा निर्णायक बन्ने देखिन्छ । चौधौं महाधिवेशनपछि बनेको शक्ति सन्तुलनमा देउवा र कोइराला समूहबीचको सहकार्यले नयाँ आयाम पाएको डा. कोइराला निकट पदाधिकारीले बताए । विगतमा फरक–फरक धारमा देखिएका यी दुई समूह अहिले एउटै मोर्चामा उभिनु गगन थापा समूहका लागि चुनौतीपूर्ण बनेको उनको ठहर छ ।
विशेषगरी कोइराला समूहका सांसदहरू देउवाको पक्षमा उभिँदा थापा समूहको अंकगणित कमजोर भएको देखिन्छ । कोइरालाको समर्थनले देउवा समूहलाई संख्यात्मक बहुमत दिएसँगै पार्टीभित्रको वैधानिकता र वरिष्ठताको आधारमा समेत बलियो बनाएको ती पदाधिकारीले जानकारी दिए ।
सांसदहरूको खुल्दै गएको धार
संसदीय दलको नेतृत्व चयन नजिकिँदै जाँदा सांसदहरू आफ्नो धार स्पष्ट पार्न थालेका छन् । मुस्ताङका सांसद योगेश गौचन केही समयसम्म तटस्थ मानिएपनि अन्ततः कोइराला समूहमा खुलेका छन् । यस्तै, पाल्पाका सन्दीप रानाले देउवा समूहलाई समर्थन गर्ने वचन दिएका छन् ।
अर्कोतर्फ रसुवाका मोहन आचार्य भने थापा समूहको पक्षमा उभिने बताएका छन् । यसले दुवै समूहबीचको प्रतिस्पर्धा अझ रोचक बनेको छ ।
प्रत्यक्ष निर्वाचित सांसदहरूमा देउवा समूहको प्रभाव उल्लेखनीय देखिएको छ । सुर्खेतका विष्णुबहादुर खड्का, मनाङका टेकबहादुर गुरुङ र हुम्लाका जयपति रोकाया खुलेर देउवाको पक्षमा उभिएका छन् । यिनीहरूको समर्थनले देउवा समूहको आधार अझ बलियो बनाएको छ ।
यसको विपरीत थापा समूहले पनि केही प्रभावशाली सांसदहरूको समर्थन पाएको छ । इलामका निस्कल राई, सोलुखुम्बुका प्रकाशमान सिंह कार्की, रौतहटका डा. फिरदोस आलम, कपिलवस्तुका अभिषेक प्रताप साह लगायतका सांसद थापाको पक्षमा उभिएका छन् । यस्तै, दैलेखकी बासना थापा, बाजुराका जनकराज गिरी, पाँचथरका नरेन्द्रकुमार केरुङ, तेह्रथुमका सन्तोष सुव्वा, मुगुका खड्ग शाही, अछामका भरतकुमार स्वाँर र डोटीका भरतबहादुर खड्का समेत थापा पक्षमा देखिएका छन् ।
प्रत्यक्ष निर्वाचित सांसदहरूमध्ये कोइराला समूहबाट स्पष्ट रूपमा खुलेका एक मात्र सांसद मुस्ताङका योगेश गौचन रहेको कोइराला समूहले बताएको छ ।
समानुपातिकतर्फ पनि देउवा समूहको पकड बलियो देखिएको छ । यस समूहलाई समर्थन गर्ने सांसदहरूमा मदनकृष्ण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, गीता गुरुङ, सीता थपलिया, हरिनादेवी कामी, पवित्रा विक, निनु कुमारी कर्ण र शाहजहाँ खातुन रहेको नेताहरूको दाबी छ ।
कोइराला समूहका समानुपातिक सांसदहरूमा रुक्मिणी कोइराला, रीना केसी, गीता कुमारी सेन्दाङ, डा. प्रमिला कुमारी गच्छादार, डा. चन्द्रमोहन यादव र रेखा कुमारी यादव रहेका छन् ।
थापा समूहले भने समानुपातिकतर्फ अर्जुननरसिंह केसी, रेनुका काउछा, कालीबहादुर सहकारी र मकनमाया विकको समर्थन पाएको छ । संख्यात्मक हिसाबले यो समर्थन देउवा–कोइराला समूहको तुलनामा कम देखिन्छ ।
आन्तरिक राजनीति र नेतृत्वको लडाइँ
कांग्रेसभित्रको यो प्रतिस्पर्धा केवल संसदीय दलको नेतृत्वमा सीमित मात्रै छैन, यसले आगामी महाधिवेशन, पार्टीको भावी दिशामा समेत प्रभाव पार्ने निश्चित छ । देउवा–कोइराला गठबन्धनले जित हासिल गरेमा पार्टीमा परम्परागत नेतृत्वको निरन्तरता रहने देखिन्छ ।
गगन थापा समूह भने पार्टीमा पुस्तान्तरण, नीतिगत सुधार र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै आएको छ । त्यसैले यो प्रतिस्पर्धालाई पुरानो भर्सेस नयाँ धारको संघर्षको रूपमा समेत हेरिएको छ ।
हालको समीकरणलाई हेर्दा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्वमा देउवा–कोइराला गठबन्धन स्पष्ट रूपमा अगाडि देखिएको छ । ३८ सांसदमध्ये २१ जनाको समर्थन सुरक्षित गर्नु आफैमा निर्णायक संकेत भएको नेताहरूले बताएका छन् । यद्यपि थापा समूहले अन्तिम समयसम्म समीकरण बदल्ने प्रयास जारी राख्ने बताएको छ । थापा समूहका नेता रामप्रसाद अधिकारी बताउँछन् ।