टीभी र होटल छाडेर मैदानमा बालेन

जहाँ समस्या छन् त्यहाँ जानुहोस् र समाधान दिनुहोस्

एउटा पुरानो कथा छ । एकजना मानिस आफ्नो हराएको साँचो सडकबत्तीमुनि खोजिरहेको हुन्छ । बाटो हिँड्नेले सोध्छ, ‘कहाँ हरायो ?’ मानिस अँध्यारोतिर औंल्याउँछ र भन्छ ‘त्यतै ।’  यात्रीले अचम्म मान्दै प्रश्न गर्छ, ‘त्यसो भए यहाँ किन खोज्दै ?’ मानिस भन्छ, ‘किनकि यहाँ उज्यालो राम्रो छ ।’

यो साधारण कथा हो, तर यसको सन्देश गहिरो छ । हामी प्रायः उत्तर त्यहीँ खोज्छौं जहाँ सजिलोसँग देखिन्छ, त्यहाँ खोज्दैनौं जहाँ वास्तवमा उत्तर हुन्छ ।

आजकल नेपालमा ‘उज्यालो’ धेरै ठाउँमा देखिन्छ, टिभीका कार्यक्रमहरूमा, फेसबुक, यूट्युबका बहसहरूमा र चम्किला हलहरूमा हुने सभा–सम्मेलनहरूमा । यी हेर्न र सुन्न सजिलो छ । तर देशका असली समस्या र समाधान यहाँ छैनन् ।

ती त भेटिन्छन्, गाउँको वडा कार्यालयमा, सरकारी स्कूलमा, स्वास्थ्य चौकीमा, भत्किएको सडकमा, धुवाँले भरिएको हावामा, बाँझो खेतमा र साना बजारहरूमा । यी त्यस्ता ठाउँ हुन् जहाँ सरकारी नीतिहरू आम मान्छेको जीवनसँग गएर ठोक्किन्छन्, जहाँ थाहा हुन्छ के काम गर्यो या के गरेन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि हालै सम्पन्न अभिमुखीकरण धेरै हिसाबले उत्साहजनक थियो । यसमा ऊर्जा, उद्देश्य र सामूहिक उद्देश्यको भावना देखिन्छ । नयाँ पुस्ताका युवाहरू राजनीतिमा प्रवेश गर्दा एक-अर्कासँग सहकार्य गर्नु र साझा बाटो रोज्नु स्वाभाविक कुरा हो ।

तर यहीँनेर राम्रोसँग सजाइएको होटल हलको परिवेशले एउटा प्रश्न भने उठाउँछ, के नेतृत्वको वास्तविक अभिमुखीकरण यहींबाट सुरु हुनुपर्छ ? किनकि सुशासन सम्मेलन कक्षमा सिकिँदैन, यो त मैदानमा सिकिन्छ ।

यस क्षणको केन्द्रमा रहेको नेतृत्वबारे अझै व्यापक जिज्ञासा र केही चिन्ता छ । धेरैका लागि बालेन्द्र शाह (बालेन) अझै राष्ट्रिय स्तरमा अस्पष्ट र पूर्ण रूपमा चिनिन नसकेको पात्र बनेका छन् । उनको मौनताले आशा र अनिश्चितता दुवैका लागि प्रशस्त ठाउँ बनाएको छ ।

केहीले यसलाई अनुशासनको रूपमा हेर्छन् भने अरूले अघिल्ला घटनाहरूमा देखिएको आकस्मिक प्रवृत्तिबाट चिन्ता व्यक्त गर्छन् । यी आलोचनाभन्दा पनि नयाँ नेतृत्वको अवस्थाका संकेत हुन् । यस्तो समयमा प्रारम्भिक संकेतहरू निकै महत्त्वपूर्ण हुन्छन् ।

टिभी स्टुडियो र होटल हलबाट बाहिर निस्केर गाउँघरतिर जानु एउटा बलियो संकेत यस्तो हुन सक्छ ।

नवनिर्वाचित, शिक्षित तर अझै अनुभवहीन नेताहरूलाई मैदानमा पठाइयोस् तर सभा वा भाषणका लागि होइन, सुन्न र सिक्नका लागि । उनीहरूलाई साना समूहमा विभाजन गरी देशभरका गाउँपालिका, स्वास्थ्य चौकी, सार्वजनिक विद्यालय, साना बजार, बाँझो जमिन, सहरी सडक र स्थानीय प्रशासनिक कार्यालयहरूमा पठाइयोस्।

उनीहरूले बुझून् कि किन कृषि जमिन बाँझो छ, स्थानीय निर्णयहरू किन अड्किन्छन्, सार्वजनिक शिक्षा वास्तवमा कसरी चल्छ, साना व्यवसायहरूले के–कस्ता कठिनाइ भोग्छन् । उनीहरूले प्रत्यक्ष देखून् कि आधारभूत स्वास्थ्य सेवाका कमजोरीहरू, फोहोर, बिजुली, पानी, सञ्चारजस्ता सहरी सेवाका दैनिक समस्या र प्रवासी लगानीलाई निरुत्साहित गर्ने वास्तविक अवरोधहरू ।

साथै स्थानीय सबल पक्ष र क्षेत्रीय सहकार्यका सम्भावनाहरू, चीन–नेपाल–भारत त्रिपक्षीय समन्वयजस्ता अवसरहरू पनि अवलोकन गरून् ।

र, त्यसपछि उनीहरू फर्कून्, भाषण गर्न होइन, तर साधारण एक पृष्ठका टिपोटसहित । जुन टिपोटमा लेखिएको होस्– केके देखियो, कहाँ समस्या छन् र के छिट्टै सुधार गर्न सकिन्छ ।

यो प्रतीकात्मक अभ्यास मात्र होइन, यो अनुकूलन गर्न सकिने सुशासनको सुरुवात हो, जुन निर्णय लिनुअघि सिक्ने प्रणाली हो । यसले नागरिक र नीतिनिर्माताबीच आवश्यक प्रतिक्रिया चक्र पनि सिर्जना गर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले नै विस्तृत घोषणापत्र बनाइसकेको छ । तर यस्ता क्षेत्रीय भ्रमण वा चौतारी भेलाले त्यस घोषणापत्रलाई वास्तविक जीवनसँग जोड्ने काम गर्न सक्छ । प्रत्येक टोलीले नीतिगत सुझाव मात्र होइन, संसदमा प्रस्तुत गर्न सकिने विधेयकका मस्यौदासमेत तयार गर्न सक्छ ।

बालेनको बलियो पक्ष परम्परागत वक्तृत्व नहुन सक्छ । तर आजको नेतृत्वमा लामो भाषणभन्दा स्थिर र विश्वासिलो संवाद आवश्यक हुन्छ । सरल, स्पष्ट र निरन्तरताले यो दूरी घटाउन सक्छ । भाषण होइन, संवाद चाहिएको छ । सरकारले के देखिरहेको छ, के सिकिरहेको छ, कहाँ संघर्ष गरिरहेको छ र अब के गर्ने हो भन्नेबारेमा सबैलाई थाहा हुनु जरुरी छ ।

सूचना र आवाजले भरिएको अहिलेको वातावरणमा यस्तो नियमित संवादले विश्वास निर्माण गर्छ । मौनताले भने खालीपन सिर्जना गर्छ र त्यो खालीपन छिट्टै अनुमान र षड्यन्त्रका कथाले भरिन्छ । यस अर्थमा संवाद प्रदर्शन नभई सुशासन हो ।

नेपालले धेरै सुरुवातहरू देखिसकेको छ । केही आशाजनक थिए तर बाटो बिराए । यो क्षण पुस्तान्तरणको संकेत हो तर ऊर्जामात्र पर्याप्त छैन । यसलाई सिकाइमा रूपान्तरण गर्नुपर्छ र सिकाइलाई कार्यमा ।

यदि कुनै एउटा प्रारम्भिक पाठलाई जोड दिनु छ भने त्यो यही हो, उत्तर उज्यालोमुनि मात्र नखोज्नुहोस् । जहाँ समस्या छन् त्यहाँ जानुहोस् अनि त्यहीँ खोज्नुहोस् जहाँ आफ्ना अनेकन जिम्मेवारीहरूबीच उनीहरूले परिवर्तनको आशासहित नयाँ शक्तिलाई अघि सारेका छन् ।

त्यहीँबाट सुशासन सुरु हुन्छ र अन्ततः त्यहीँ यसको विश्वसनीयता परीक्षण हुन्छ । 

(लेखक युनिभर्सिटी अफ न्यू मेक्सिकोका अर्थशास्त्रका इमेरिटस प्राध्यापक हुन् ।)

Share News