यति ब्रुअरीको आम्दानी ६ महिनामा ४.२० अर्ब, बैंकमा ऋण ३.१० अर्ब रुपैयाँ

काठमाडौं । अर्ना, यती लगायतका ब्रान्डका बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको यति ब्रुअरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ४ अर्ब २० करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानीमा अर्ना ८ ब्रान्डको प्रमुख योगदान रहेको छ, जसले कुल आम्दानीको करिब ६३ प्रतिशत योगदान गरेको छ । यस ब्रान्डको बिक्री भोल्युम वर्षभरि २५ प्रतिशतले वृद्धि भएको छ, तर औसत बिक्री मूल्यमा भने ठूलो परिवर्तन नभएको कम्पनीले जनाएको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १७.२८ प्रतिशत अर्थात् १ अर्ब १६ करोड १० लाख रुपैयाँ बढी हो । त्यसअघि आव २०८०/८१ मा कम्पनीको आम्दानी ६ अर्ब ७१ करोड ६० लाख रुपैयाँ, आव २०७९/८० मा ६ अर्ब ६७ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र आव २०७७/७८ मा २ अर्ब ९८ करोड ३० लाख रुपैयाँ रहेको थियो । 

बीयर उद्योगमा चर्चित ब्राण्डको रूपमा स्थापित यति ब्रुअरीलाई २०१३ मा चितवनमा स्थापना गरिएको थियो । कम्पनीले मार्च २०१७ मा व्यावसायिक उत्पादन सुरु गरेको हो । स्थापनाकालमा वार्षिक करिब १३ मिलियन लिटर उत्पादन क्षमता रहेकोमा हाल ४३ मिलियन लिटर प्रतिवर्ष पुगेको छ, जसले नेपालको मदिरा उद्योगमा कम्पनीको दायरा र उत्पादन क्षमतालाई थप बलियो बनाएको छ ।

यति ब्रुअरी आइएसओ २२०००:२०१८ तथा आईएसओक्यूएआरद्वारा प्रमाणित कम्पनी हो । यसको अर्थ कम्पनीले खाद्य सुरक्षा तथा गुणस्तर व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरको मानक अनुकूलता पुरा गरेको भन्ने बुझिन्छ । 

हाल यति ब्रुअरीले ५ प्रमुख ब्रान्ड मार्फत लगभग १० उत्पादन भेरिएन्ट उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । यी उत्पादनहरू आल्कोहोल सामग्री अनुसार विभाजित छन् । ब्रान्डहरूमा अर्ना, यति, शिखर वाइबी/किङ्फेसर प्रमुख छन् । यति ब्रुअरीका प्रमुख सेयरधनीहरूमासंजीव सराफको ३३.३३ प्रतिशत, जयजीव सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.८६ प्रतिशत रहेका छन् ।  

कम्पनीको मार्जिन १२.७२ प्रतिशत पुगेको छ, जबकि गत वर्ष १०.१५ प्रतिशत रहेको थियो । कम्पनीको खुद नाफा गत वर्ष ३.९९ प्रतिशत रहेको छ, जबकि अघिल्लो १.५९ प्रतिशत थियो । चालु आवको ६ महिनामा खुद नाफा ५.८३ प्रतिशत पुगेको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २४ करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ अल्पकालीन गरी कुल ३ अर्ब १९ करोड रुपैयाँ ऋण लिएको छ । 

Share News