काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । निर्वाचनका लागि अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘सुरक्षित निजी क्षेत्र सशक्त महासंघ’ को मुख्य नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा महासंघलाई केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम बन्न नदिई आम उद्यमीको साझा र प्रभावकारी संस्था बनाउने संकल्प गरिएको छ ।
घिमिरे समूहले महासंघको वर्तमान कार्यशैलीमा आमूल सुधारको प्रस्ताव गर्दै पाँचवटा मुख्य आधारस्तम्भ अघि सारेको छ ।
सचिवालय पुनर्संरचना
घिमिरे समूहको प्रमुख एजेण्डा महासंघको सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली र दक्ष जनशक्तिसहित पुनर्संरचना गर्नु रहेको छ । सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गरी सदस्य केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने दाबी गरिएको छ । 'हामी बोलेर होइन, गरेर देखाउने नेतृत्वका लागि मैदानमा आएका हौँ' प्रतिबद्धता पत्रमा उल्लेख छ ।
वस्तुगत परिषद् र नीतिगत पैरवी
वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्र बनाउने घिमिरेको योजना छ । सरकारी निकायसँगको संवादमा निजी क्षेत्र र सम्बन्धित वस्तुगत परिषद्का प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग सहमति खोजिने प्रतिबद्धतामा उल्लेख छ । यस्तै, उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर घटाउन र आयोजना सम्पन्न भएपछि पनि रोकिएका सरकारी भुक्तानीहरू अनिवार्य रूपमा दिलाउन महासंघले नेतृत्व लिने बताइएको छ ।
स्टार्टअप, कृषि र निर्यातमा नयाँ मोडल
घिमिरे समूहले युवा लक्षित स्टार्टअप, नवप्रवर्तन र एसएमईएस स्थापनालाई विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बिचौलियाको भूमिका न्यून गर्दै उत्पादनदेखि बजारसम्मको ’एकीकृत मूल्य श्रृंखला’ भ्यालू चेन निर्माण गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न राष्ट्रिय अभियान चलाउने घोषणापत्रमा उल्लेख छ ।
ऊर्जा र पर्यटनमा रणनीतिक पहल
घिमिरे समूहले ऊर्जा सुरक्षाका लागि ३ देखि ६ महिनाको भण्डारण सुनिश्चित गर्ने र नवीकरणीय ऊर्जा परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ । पर्यटन क्षेत्रमा भने कर, हवाई टिकट शुल्क र परमिट शुल्कलाई समयसापेक्ष र व्यवसायी–मैत्री बनाउन सरकारसँग सशक्त पैरवी गर्ने एजेण्डा अघि सारिएको छ ।
निजी क्षेत्रको ‘सुरक्षा कवच’ बन्ने दाबी
निजी क्षेत्रको प्रतिष्ठा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्न नहुने घिमिरे समूहको अडान छ । नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीलाई जोगाउन ‘नीतिगत स्थिरता’ र ‘सम्पत्ति अधिकारको सुनिश्चितता’ लाई यस समूहले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएको छ । चैत २९ र ३० गते हुने निर्वाचनका लागि घिमिरे समूहले आफ्नो प्रतिबद्धता पत्रलाई केवल ‘चुनावी कागज’ मात्र नभई वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनसहितको उत्तरदायी दस्ताबेज भएको दाबी गरेको छ । घिमिरे समुले निरन्तर एजेण्डामा काम गरिरहेको छ । प्रतिस्पर्धी नरेशलाल श्रेष्ठ समूह भने अस्पष्ट र अलमलमा देखिएको छ ।