एनआईसी एशिया बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक, सरोकारवाला तथा आम नेपालीमा नयाँ आशा, भरोसा र उत्साह थपोस् भन्ने शुभेच्छासहित बैंकले नेपाली लोक बाजा संग्रहालयको सहयोगमा उक्त क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ ।

बैंकका अनुसार देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका लोकप्रिय एवं लोपोन्मुख लोक बाजा र तिनका बजाउने शैली झल्किने तस्बिरहरू समेटेर भित्ते तथा टेबल क्यालेन्डर तयार गरिएको हो । उक्त क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

नेपालका विविध समुदायमा प्रचलित लोक तथा सांस्कृतिक बाजा हाम्रो संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक हुनुका साथै अमूल्य सांस्कृतिक सम्पदा भएकाले यस पहलले तिनको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

क्यालेन्डरमा नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्ग तिथिसमेत समावेश गरिएको छ । ग्राहक तथा सरोकारवालाले बैंकको वेबसाइटमार्फत भित्ते र टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

Share News