काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर बिक्री गर्नेछ ।
जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये ९४ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्ने भएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।