काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको भेटमा उनले वर्तमान सरकारलाई बलियो जनसमर्थन प्राप्त भएको उल्लेख गर्दै अबको समयलाई आर्थिक समृद्धितर्फ केन्द्रित गर्नुपर्ने बताए ।
उनले निजी क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता हासिल भइसकेको भन्दै अब आर्थिक गतिविधि विस्तारमा जोड दिनुपर्ने धारणा राखे । ‘हामी यो महत्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री नीति ल्याउन प्रतिबद्ध रहेको जनाउँदै पदभार सम्हालेको पहिलो दिनमै १५ वटा कानुन खारेज गरेर उदार सन्देश दिएको उल्लेख गरे । उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गरिने तर नियमन भने कडाइका साथ गरिने स्पष्ट पारे ।

‘निजी क्षेत्रका साथीहरू इमान्दारीपूर्वक उद्योग र व्यापार गर्नुस्, हामी दिल खोलेर सहयोग गर्छौं,’ उनले भने ।
त्यसैगरी, उनले नमूना औद्योगिक पार्क स्थापना गर्ने योजना अगाडि बढाइने जानकारी दिँदै ठूलो तथा बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउन निजी क्षेत्रलाई सक्रिय भूमिका खेल्न आग्रह गरे । सरकारले स्वदेशी तथा विदेशी लगानीको सुरक्षा र सहजीकरणमा पूर्ण सहयोग गर्ने उनले बताए ।
अर्थमन्त्री वाग्लेले विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्न निजी क्षेत्रलाई अग्रसर हुन आग्रह गर्दै लगानी विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि सम्भव हुने उल्लेख गरे ।