काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूको बैठक मंगलबार (आज) आज बस्ने भएको छ । आज अपरान्ह १ बजे धुम्बाराहीको स्मार्ट होटलमा बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको धरपकडलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।
थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिए पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा राजनीतिक गतिविधि गर्दै आइरहेका छन् ।
कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको पेशी सर्वोच्चमा यही चैत २२ गतेका लागि ताकिएको छ।
आज बस्ने बैठकअघि कोइरालाले आफू पक्षीय नेताहरूसँग छुट्टै बैठक पनि बसिसकेका छन् ।