काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा नयाँ नेतृत्वका लागि अध्यक्ष उम्मेदवार आङ दोर्जे लामा (एडी) लामाले थला परेको निर्माण क्षेत्रमा अब बिस्तारै आशाका किरणहरू देखिन थालेको बताएका छन् ।
महासंघको २६औं साधारण सभा तथा १३औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान समयलाई निर्माण व्यवसायका लागि कालो बादलमा चाँदीको घेराको संज्ञा दिए ।
उपाध्यक्ष लामाले कोभिड-१९ को असर, रुस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव र नेपाल सरकारले समयमा भुक्तानी नगर्दा निर्माण उद्योग अत्यन्तै नाजुक र पीडादायी अवस्थामा पुगेको उल्लेख गरे ।
‘हामी निर्माण व्यवसायीहरू लामो समयदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले ठुलो मारमा छौं,’ उनले भने, ‘विशेष गरी सरकारले समयमा भुक्तानी नदिँदा व्यवसायीहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।’
निर्माण क्षेत्रको मुख्य समस्याको जड राजनीतिक अस्थिरता रहेको लामाको तर्क थियो । बिना बजेटका आयोजनाहरू घोषणा गर्ने र सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारले लगाएका ठेक्काको भुक्तानी रोकिने प्रवृत्तिले निर्माण क्षेत्रलाई घातक असर पुर्याएको उनले बताए ।
राजनीतिक अस्थिरताकै कारण पटक–पटक प्रयास गर्दा पनि ऐन संशोधन हुन नसकेको उनको गुनासो थियो ।
पछिल्लो राजनीतिक परिवर्तन र नयाँ सरकारको कार्यशैलीप्रति व्यवसायीहरू उत्साहित देखिएका छन् । सरकार बनेको एक हप्ता पनि नबित्दै सार्वजनिक खरिद ऐन संशोधनका लागि ३० दिने कार्ययोजना अघि बढाउनु र व्यवसायीसँग सुझाव माग गर्नु सकारात्मक पक्ष भएको लामाले बताए ।
‘भर्खरै बनेको सरकारले निर्माण क्षेत्रका विकराल समस्या समाधान गर्न देखाएको तत्परता हाम्रा लागि सुखद पक्ष हो,’ लामाले भने, ‘अबका दिनमा राजनीतिक स्थिरता कायम हुने र व्यवसायीले निर्धक्क भएर काम गर्ने वातावरण बन्नेमा हामी आशावादी छौं ।’
महासंघको १३औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले सरकारसँग समन्वय गरी निर्माण क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक गाँठो फुकाउने उनले विश्वास व्यक्त गरे ।
वर्षौंदेखिको अन्योल अन्त्य भई अब निर्माण क्षेत्रले नयाँ गति लिने र समृद्ध नेपाल निर्माणमा व्यवसायीको भूमिका अझ सशक्त हुने लामाको भनाइ थियो ।
सम्बोधनको अन्त्यमा उनले भने, ‘जसरी राजनीतिमा परिवर्तन आएको छ, त्यसैगरी निर्माण क्षेत्रमा पनि व्यापक सुधार आउनेछ । अब हाम्रो अनुहारमा छाएको निराशा हटेर सुखद दिनहरू आउनेमा म पूर्ण विश्वस्त छु ।’