निजी क्षेत्र नाफाखोर मात्र होइन, देश विकासको इन्जिन हो : अध्यक्ष चन्द्र ढकाल

फाइल फोटो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र केवल नाफा कमाउने समूह मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्ड र विकासको मुख्य इन्जिन भएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को २६ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको योगदानलाई अवमूल्यन गर्न नहुनेमा जोड दिए । उनले भने, 'निजी क्षेत्रले देशको कुल राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्याउँछ, लाखौँका लागि रोजगारी सिर्जना गर्छ र पूर्वाधार निर्माणमा अहोरात्र खट्छ । यस्तो क्षेत्रलाई केवल नाफाखोरका रूपमा मात्र हेरिनु गलत मानसिकता हो ।'

अध्यक्ष ढकालले नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले 'निजी क्षेत्र संरक्षण र प्रवर्द्धन योजना' ल्याउनु निजी क्षेत्रका लागि ठुलो उपलब्धि भएको बताए । महासंघको निरन्तर लबिङ र पहलकदमीकै कारण सरकारले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उनको दाबी छ।

निर्माण व्यवसायीहरूले भोग्नुपरेको समस्याप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष ढकालले वर्तमान सार्वजनिक खरिद ऐन अत्यन्तै अव्यवहारिक रहेको टिप्पणी गरे । 

'कुनै प्राविधिक वा सरकारी कारणले आयोजनामा ढिलाइ हुँदा त्यसको सम्पूर्ण दोष निर्माण व्यवसायीलाई मात्र थुपार्नु अन्यायपूर्ण छ,' उनले भने ।

गलत निर्णयका कारण व्यवसायीको बैंक ग्यारेन्टी जफत हुने र उनीहरू कालोसूचीमा पर्ने परिपाटीले अर्बौको लगानी जोखिममा परेको भन्दै उनले यसलाई सच्याउन सरकारले कार्यदल गठन गरेकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष ढकालले निर्माण व्यवसायी महासंघ र उद्योग वाणिज्य महासंघ दुवैको आगामी निर्वाचनको सन्दर्भ जोड्दै सक्षम र व्यावसायिक नेतृत्व चयन गर्न आग्रह गरे । 'सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व छानौँ, यदि निर्वाचन नै भए पनि स्वस्थ प्रतिस्पर्धाबाट सक्षम व्यक्तिलाई अगाडि बढाऔँ,' उनले भने।

नयाँ आउने नेतृत्वसँग सहकार्य गर्दै निजी क्षेत्रका साझा समस्या समाधानका लागि महासंघ सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Share News