कम बोलेर धेरै काम गरौं, अब निर्माण व्यवसायमा आमूल परिवर्तनको खाँचो छ : निकोलस पाण्डे

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा अब बोल्नेभन्दा धेरै काम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघको २६औ साधारण सभा तथा १३औं अधिवेशनलाई सम्बोधन गर्दै उनले देश र विश्व नै परिवर्तनको संघारमा रहेका बेला निर्माण व्यवसायीहरूले पनि परिणाममुखी काममा ध्यान दिनुपर्ने बताए ।

अध्यक्षका प्रत्यासी समेत रहेका पाण्डेले मञ्चबाट कसैको आलोचना गर्नु वा अरूलाई दोष थुपार्नुभन्दा पनि आफैले काम गरेर देखाउनुपर्ने धारणा राखे ।

‘अब हामीले मञ्चबाट कसैलाई गाली गर्ने वा कसैले गरिदिएन भनेर बस्ने होइन, बरु कसरी काम गराउने र गर्न सकिन्छ भन्ने प्रवृत्तिको विकास गर्नुपर्छ,’ उनले भने ।

महासंघलाई एउटा महासागरको संज्ञा दिँदै पाण्डेले यसको व्यापक विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए । 

महासंघ केवल काठमाडौंको मुटुमा मात्र सीमित नभई देशका हरेक जिल्ला र प्रदेशका व्यवसायीहरूको समस्या बुझ्ने गरी उनीहरूको मुटु–मुटुमा पुग्नुपर्ने उनको तर्क थियो ।

आफ्नो कार्यकालमा वरिष्ठ उपाध्यक्षको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले विगतमा निर्माण व्यवसायीका लागि ल्याइएको ५ प्याकेजको योजना र त्यसले साना, मझौला तथा ठूला व्यवसायीहरूलाई पुर्याएको फाइदाको स्मरण गरे । 

उनले भने, ‘विगतमा हामीले बसेरा होटलमा बसेर गरेका निर्णयहरूले व्यवसायीमा ठूलो उत्साह ल्याएको थियो । अब फेरि त्यस्तै ठोस र प्रभावकारी कामको खाँचो छ।’

Share News