गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखबीच भेटवार्ता, विपद् पूर्वतयारी र सीमा सुरक्षा मुख्य एजेन्डा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच मंगलबार गृह मन्त्रालयमा छलफल भएको छ । 

उक्त बैठकमा विशेष गरी मनसुनजन्य तथा अन्य सम्भावित विपद् व्यवस्थापन र सीमा सुरक्षाको सुदृढीकरणका विषयमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको थियो ।

बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएकाे छ । 

सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति तय गर्ने, उपलब्ध स्रोत-साधनको समुचित व्यवस्थापन गर्ने र सुरक्षा निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । 

नागरिकको जीउधनको रक्षाका लागि प्रतिकार्य योजनालाई चुस्त राख्न गृहमन्त्री गुरुङले निर्देशन दिए ।

यसैगरी, सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सीमा गस्तीलाई थप कडा बनाउने निर्णय भएको छ । सीमानाकाबाट हुने चोरी-पैठारी र आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन र सम्झौता नगरी कार्यसम्पादन गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

Share News