काठमाडौं । ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ । सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीले यस संस्थाको भविष्यको लागि गहिरो महत्त्व राख्दछन्।’
व्यावसायिक घराना गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंकडिनमा भिडियोसँगै पोष्ट गरेको यो विचार अहिले चर्चामा छ । ३७ वर्षीय अक्षयले गत मंसिरमा ग्रुपको नेतृत्व सम्हालेसँगै कामको शैली पनि बदलेका छन् । जसमध्ये एक हो, वार्ता ।
अक्षयले पोष्ट गरेको भिडियोमा उनले ग्रुपका कर्मचारीसँग वार्ता गरिरहेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता व्यावसायिक घराना गोल्याण ग्रुपमा करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन् । उनले पहिलो चरणमा कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् ।
‘वार्ता’ नाम दिइएको यस कार्यक्रममार्फत उनले कर्मचारीका प्रश्न, गुनासो र सुझावहरु सुनेका छन् । ‘तपाईंहरूले प्रमाणित गर्नुभयो कि हाम्रा कर्मचारीहरू यहाँ केबल काममात्र गर्दैनन्, गहन रुपमा सोच्न र समृद्धिको यात्रामा सहकार्य गर्न पनि सक्षम छन्,’ उनले वार्ताको अनुभव सुनाउँदै भनेका छन्, ‘अब मेरो प्रतिवद्धता तपाईंले व्यक्त गर्नुभएको विश्वासलाई निर्णय प्रक्रियामार्फत विकासमा बदल्नु हुनेछ ।’
साढे ६ दशक लामो विरासत बोकेको गोल्याण ग्रुपको नेतृत्व अहिले तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले गरिरहेका छन् ।

स्वदेशको श्रम, सीप र पुँजीलाई प्रयोग गर्दै ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बनाउने अभियानमा रहेका अक्षयले यसको लागि संस्थाको आन्तरिक सामर्थ्यलाई मजबुत बनाउने रणनीतिअन्तर्गत ‘वार्ता’ थालेका हुन् ।
कार्यरत कर्मचारीसँग बसेर प्रत्यक्ष कुराकानी गर्ने, उनीहरुका समस्या तथा सुझाव सुन्ने र सोको आधारमा संस्थागत योजना तथा रणनीति तय गर्ने वार्ताको उद्देश्य रहेको अक्षयले बताएका छन् ।
गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । विश्वका ‘उत्कृष्ट १० भित्र पर्ने स्पेनको एसादी यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका उनले छोटो सयममै ग्रुपलाई नयाँ युगको पदचाप र परिवर्तनको चाहनामा हिँडाउने प्रयास गरेका छन् ।