काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्ने वातावरण बनाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै भने, ‘तपाईंहरूलाई उँड्ने र फैलने अवसर राज्यले दिन्छ, हामी देश बनाउने हुटहुटी बोकेर आएका छौँ । ’
अर्थमन्त्री वाग्लेले इमानदार व्यवसायीहरू कानुनी झन्झटका कारण बदनाम बन्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाए । ‘रोजगारी सिर्जना गर्नेहरू अब राज्यका कारण दुःख पाउने छैनन्, यसको ग्यारेन्टी म गर्छु,’ उनले भने ।
उनले निजी क्षेत्रसँग खुला संवादको आह्वान गर्दै उद्योग र अर्थतन्त्र विकासका लागि आवश्यक सुझाव दिन आग्रह गरे । साथै, सरकार सहकार्यका लागि तयार रहेको तर नियोजित गल्ती र बेइमानीप्रति भने कडाइ गरिने चेतावनी पनि दिए ।
अर्थतन्त्र सुदृढीकरण र देशको समग्र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई इमानदार बन्न आग्रह गरे। ‘राज्य तपाईंहरूको साथमा दिलोज्यान दिएर उभिन्छ, ’ उनले भने ।
एलडीसी (Least Developed Country) बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्ता आफूले बुझेको बताउँदै वाग्लेले तत्काल यस्तो परिवर्तन नहुने धारणा राखे ।