पोखरामा मध्यराति ‘ट्रान्स पार्टी’मा छापा: लागूऔषधसहित ३८ जना नियन्त्रणमा

पोखरा । पोखरामा सञ्चालन भइरहेको एक ‘ट्रान्स पार्टी’मा प्रहरीले मध्यराति छापा मार्दै विदेशी नागरिकसहित ३८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार (आज) राति करिब १:३० बजे पोखरा महानगरपालिका-१८ स्थित एक स्थानमा गोप्य सूचनाको आधारमा छापा मारिएको हो । 

उक्त पार्टी बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छापाका क्रममा ८ जनाको साथबाट एमडीएमए, चरेशजस्तो देखिने पदार्थ, कोकिन, बरफ (एम्फेटामिन), म्याजिक मशरूम, एलएसडीलगायतका विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले लागूऔषध मुद्दामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने ४ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको छ । अन्य २६ जनालाई भने सोधपुछपछि आफन्तको जिम्मा लगाइएको छ ।

पक्राउ पर्नेहरूमा ब्राजिल, भारत लगायत विभिन्न देशका नागरिकसमेत रहेका छन्, जसले घटनालाई थप संवेदनशील बनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रमा यस्ता अवैध पार्टीहरूको गतिविधि बढ्दै गएको गुनासो आएपछि निगरानी कडा पारिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share News