काठमाडौं । कर्णाली जस्तो विकट भू-गोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौंद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा/खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले हुलाक सेवालाई परिष्कृत एवं प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने बताए ।
प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई उपेक्षित गरिएको अवस्थामा नवगठित सरकारले एक सय बुँदे कार्यसूचीमा राखेर नयाँ ढङ्गले अगाडि बढाउने नीति लिएको बताए । उनले चैत १४ गते सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरेको बताए ।
‘सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत कागजात/सामग्री घरमै पुर्याउने लक्ष्य राखेकाले यसको उपादेयता बढेको छ,’ प्रशिक्षक आचार्यले भने ।
उनले कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनै पनि देशले हुलाकको उपादेयतालाई कम हाक्न नसकेको बरु परिष्कृत बनाउँदै लगेको बताए । जापानमा सरकारलाई सबैभन्दा बढी राजस्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाक सेवालाई पनि थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।
६ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण तथा प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायब सुब्बा र खरिदार तहका कर्मचारीको सहभागिता रहेको छ ।