लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य सराहनीय : अध्यक्ष  ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।  

कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गरे ।

उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कुटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताए ।

‘महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन  महत्त्वपूर्ण भूमिका खेलेको छ । नीति संवाददेखि लगानी प्रवर्द्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कुटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ भन्ने मेरो विश्वास छ,’ अध्यक्ष ढकालले भने ।

कुटनीतिक समुदायले नेपाल र विभिन्न देशहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवर्द्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताए ।

उनले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गरे ।
 
विशेषगरी विकास साझेदारहरूले नेपालको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्यमहरूको विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो ।

अध्यक्ष ढकालले हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक  परिणाम देखाउन थालेको उल्लेख गरे ।  

उनले नेपाल उद्योग वाणिज्य महासंघ देशको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन भएको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच पुलको रूपमा महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए। 

उनले आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको जानकारी दिए ।

साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताए ।  

अध्यक्ष ढकालले चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै यसले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको धारणा राखे ।

साथै नेपाल अहिले आर्थिक विकासको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि थप लगानी प्रवर्द्धन, साझेदारी र निरन्तर सहकार्यको आवश्यकता रहेको बताए ।

कार्यक्रममा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदार संस्थाका तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो ।

Share News