नाट्टाका अध्यक्ष थपलिया विश्वव्यापी संस्था ‘युफ्टा’ को सञ्चालक समितिमा नियुक्त

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया विश्वव्यापी ट्राभल एजेन्सीहरूको सर्वोच्च निकाय, ‘युनाइटेड फेडरेशन अफ ट्राभल एजेन्ट्स एशोसिएशन्स’ (युफ्टा) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् ।

सन् २०२५/२६ का लागि हालै सम्पन्न युफ्टाको वार्षिक साधारण सभाले थपलियाको नियुक्तिलाई आधिकारिक रूपमा अनुमोदन गरेको हो । 

युफ्टाका अध्यक्ष सुनिल कुमार आरको अध्यक्षतामा सम्पन्न उक्त सभामा विभिन्न महादेशका पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बोर्डमा निर्देशक पद सुरक्षित गर्नु गौरवको विषय मानिएको छ । यो नियुक्तिले विश्व पर्यटन बजारमा नाट्टाको उपस्थितिलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन उद्योगप्रतिको बढ्दो वैश्विक विश्वासलाई समेत प्रतिबिम्बित गरेको छ । 

आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै अध्यक्ष थपलियाले यो अवसरले नेपालको पर्यटन क्षमतालाई विश्वमाझ अझ प्रभावकारी ढंगले चिनाउन र विश्वव्यापी पर्यटन विकासमा अर्थपूर्ण योगदान पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त १२ सदस्यीय बोर्डमा अध्यक्ष थपलियासँगै अन्य देशका चार पर्यटन नेतृत्वकर्ताहरू पनि निर्देशकका रूपमा चयन भएका छन् । जसमा टर्कीका सेटिन गुर्कुन, श्रीलंकाका दुमिन्दा कुरुविटार्ची, इजरायलका योसेफ फातेल र फिलिपिन्सकी मारीजेल मानोतोक रहेका छन् ।

सन् १९६६ मा स्थापना भई मोनाकोमा मुख्यालय रहेको युफ्टाले विश्वभरका ट्राभल एजेन्टहरूको हकहित र उड्डयन क्षेत्रका जटिलताहरू सुल्झाउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ । 

यस्तै, नेपालमा ८०० भन्दा बढी ट्राभल एजेन्टहरूको छाता संगठन नाट्टाले पनि सन् १९६६ देखि नै नेपालको पर्यटन प्रवर्द्धन र व्यवसायीहरूको हितमा काम गर्दै आएको छ । नाट्टा र युफ्टाबीचको यो साझेदारीले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय नीति निर्माण तहमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

Share News