काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले विश्वभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिने अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनी वीक २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ ।
बैंकले ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ बैंकले सातै प्रदेशका आफ्ना शाखाहरूमार्फत यो सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको हो ।
यस विशेष सप्ताहअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजना सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
यस अभियानका क्रममा बैंकले स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू र बैंकिङ सेवाबारे जनचेतना कार्यक्रमहरू आयोजना गरेको थियो ।
कार्यक्रमको मुख्य गतिविधिहरूमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता सम्बन्धी विशेष कार्यक्रमहरू समावेश थिए ।
यसका साथै प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता र प्यानल डिस्कसन जस्ता विविध कार्यक्रमहरूले समुदायमा वित्तीय सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
नेपाल बैंक लिमिटेडले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका अभियानहरूलाई निरन्तरता दिँदै आम नागरिकको वित्तीय सचेतनाको क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।