काठमाडौं । नेपालको सुरक्षा अवस्थामा आएको सकारात्मक सुधारलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि प्रदान गर्दै आएको आफ्नो यात्रा परामर्श (ट्राभल एड्भाइजरी) को स्तरमा कटौती गरेको छ ।
मन्त्रालयले नेपालको विद्यमान सुरक्षा व्यवस्था पहिलेभन्दा सुदृढ र सुरक्षित भएको निष्कर्ष निकाल्दै जोखिमको स्तरलाई घटाएर ‘स्तर २’ मा झारेको हो ।
अमेरिकी सरकारको यो निर्णयले नेपालमा शान्ति सुरक्षाको स्थिति राम्रो रहेको र विदेशी पर्यटकका लागि वातावरण अनुकूल बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गरेको छ ।
यद्यपि स्तर २ मा झारिए पनि अमेरिकी नागरिकहरूलाई नेपाल भ्रमणका क्रममा सामान्य सतर्कता भने अपनाउन भनिएको छ ।
अमेरिकाको यस कदमले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा अमेरिकी पर्यटकहरूको आगमनमा वृद्धि हुने विश्वास लिइएको छ ।