काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)हरूले वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा कार्यान्वयन गर्ने भएका छन् । चैत १७ गते बसेको स्टक ब्रोकर एशोसिएसन अफ नेपालको ( एसब्यान) कार्यसमिति बैठकले वि.सं २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार सेवा लगानीकर्तालाई उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको कार्यप्रक्रिया अनुसार धितोपत्र दलाल व्यवसायीहरूले पनि आफ्नै कार्यप्रक्रिया तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सोही बमोजिम ब्रोकर कम्पनीहरूले कार्यप्रक्रिया तयार गरेर एसब्यान कार्यसमितिको बैठकले अनुमोदन गरेको हो ।
एसब्यानका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित अधिकांश प्रक्रिया पूरा भइसकेको छ । यद्यपि, केही प्राविधिक विषय मिलाउन बाँकी रहेकाले नयाँ वर्षदेखि सेवा सुरु गर्ने तयारी गरिएको कार्यालय व्यवस्थापक मित्र बहादुर क्षेत्रीले बताए । यो सुविधा लागू भएसँगै लगानीकर्ताले धितोपत्र खरिदका लागि दलालमार्फत ऋण (मार्जिन) प्रयोग गर्न सक्नेछन्, जसले बजारमा कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।