नयाँ वर्षमा सेगवे ई११०एल स्कुटर पुनः नेपाली बजारमा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ ।

नेपाली बजारमा लोकप्रिय बनेको उक्त मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ मूल्यमा बिक्री सुरु गरिएको हो । सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले सार्वजनिक गरेको अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग प्राप्त गर्नेछन् । साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो २५ ग्राहकका लागि ‘अर्ली बर्ड’ छुटसमेत घोषणा गरिएको छ, जसअन्तर्गत खरिद गरिने मोडेलअनुसार अधिकतम रु. ४१ हजारसम्म बचत गर्न सकिनेछ ।

दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको सेगवे ई११०एलमा २४०० वाट क्षमताको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । स्कुटरको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ भने १५ डिग्रीभन्दा बढी उकालो सहज रूपमा पार गर्न सक्षम रहेको कम्पनीको दाबी छ ।

७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको यस स्कुटरले एकपटक चार्ज गर्दा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सक्छ । २७ लिटर बुट स्पेस तथा रिभर्स मोडले सहरभित्रको प्रयोगलाई थप सहज बनाएको छ ।

राइडिङ अनुभव सुधार गर्न हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम, एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेक जडान गरिएको छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण विभिन्न सडक अवस्थाका लागि स्कुटर उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

यसमा जीपीएस ट्र्याकिङ, रिमोट एक्सेस, एन्टी–थेफ्ट सिस्टम, क्रुज कन्ट्रोल तथा रिजनरेटिभ ब्रेकिङजस्ता स्मार्ट फिचरहरू समावेश छन् । साथै इलेक्ट्रोनिक सिट लक, म्याट्रिक्स एलईडी हेडलाइट, रियर इन्डिकेटर, बीएमएस ५.० सिस्टम र आईपीएक्स–४ रेटिङले सुरक्षा र प्रयोग सुविधा थप मजबुत बनाएको छ ।

Share News